काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा ओपनर यसश्वी जैसवालको शतकको सहयोगमा मुम्बई इन्डियन्सलाई पराजित गरि राजस्थान रोयल्स प्लेअफ नजिक पुगेको छ ।
घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियम जयपुरमा राजस्थान ९ विकेटले विजयी भयो ।
मुम्बईले दिएको १ सय ८० रनको लक्ष्य राजस्थानले १८ दशमलब ४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानका लागि यसश्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ४ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको दोस्रो शतक उनले ५९ बलमा पुरा गरेका थिए । अर्का ओपनर जोस बटलरले २५ बलमा ६ चौकाको सहयोगमा ३५ रन बनाए । पहिलो विकेटका लागि जैसवाल र बटलरले ४८ बलमा ७४ रनको साझेदारी गरे ।
कप्तान सन्जु सामसनले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए । दोस्रो विकेटका लागि जैसवाल र सामसनले ६५ बलमा १ सय ९ रनको अविजित साझेदारी गरे ।
मुम्बईका लागि पियुष चावलाले १ सफलता दिलाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
मुम्बईका लागि तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । बढेराले २४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४९ रन बनाए । ५२ रन बनाएर ४ विकेट गुमाएको अवस्थाबाट बर्मा र बढेराले पाँचौं विकेटका लागि ५५ बलमा ९९ रनको साझेदारी गर्दै टिमलाई मध्यम योगफलसम्म पुर्याए ।
मोहम्मद नाबीले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । सुर्यकुमार यादवले ८ बलमा १० तथा कप्तान हार्दिक पान्ड्याले १० बलमा १० रन बनाए ।
राजस्थानका लागि सन्दीप शर्माले पाँच तथा ट्रेन्ट बोल्डले दुई विकेट लिए । आभेस खान र युजभेन्द्र चहलले समान एक एक विकेट लिए ।
आठौं खेलमा सातौं जितका साथ राजस्थान शीर्ष स्थानमा कायमै छ । यस जितसँगै राजस्थानको शीर्ष चारमा रहँदै प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ ।
आठौं खेलमा पाँचौ हारका साथ मुम्बई अंक तालिकामा पुछारबाट चौथो स्थानमा छ ।
यस संस्करणमा दुई टोलीबीचको यो दोस्रो पटक भेट भएको हो । पहिलो भेटमा पनि मुम्बईलाई राजस्थानले पराजित गरेको थियो ।