पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

२०८१ श्रावण ११, शुक्रबार २२:४०

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।

पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले १९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

श्रीलंकाका लागि कप्तान चमारी अथापाप्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाईन् । अनुष्का सन्जिवनीले २२ बलमा २४ रन बनाईन् ।

पाकिस्तानका लागि सादीया इकवालले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो ।

पाकिस्तानका लागि ओपनर मुनिबा अलिले ३४ बलमा सर्वाधिक ३७ रन बनाउँदा अर्का ओपनरगुल फिरोजाले २४ बलमा २५ रन बनाईन् ।

कप्तान निदा दार र फतिमा सानाले समान २३ रन बनाउँदा अलिया रियाजले १५ बलमा अविजित १६ रन बनाईन् ।

कविशा दिलहरी र उडिशिका प्रबोधानीले समान दुई दुई विकेट लिईन् ।

श्रीलंकाले आईतबार भारतसँग उपाधीका लागि खेल्नेछ ।

साविक विजेता भारतले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १० विकेटको जितका साथ फाइनलमा स्थान पक्का गरेको थियो ।

भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy