दक्षिण अफ्रिकाविरुद्धको सिरिज अफगानिस्तानलाई 

२०८१ आश्विन ५, शनिबार ०९:५८

अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध १ खेल अगावै ऐतिहासिक ओडिआई सिरिज जितेको छ ।

अफगानिस्तानले दोस्रो ओडिआई खेलमा १ सय ७७ रनको फराकिलो जितका साथ सिरिज जितेको हो ।

पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । अफगानिस्तानले अघिल्लो खेलमा दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको थियो । उसले दक्षिण अफ्रिकाविरुद्धको सिरिज जितेको यो पहिलो पटक हो ।

सारजहामा अफगानिस्तानले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा अल आउट हुदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले सर्वाधिक ३८, टोनी डि जोर्जीले ३१, एडेन मारकमले २१ तथा रिजा हेनरिक्सले १७ रन जोडे ।

एक समय ७३ रनमा कुनै विकेट नगुमाएको दक्षिण अफ्रिकाले बाँकी ६१ रन जोड्दा १० विकेट गुमायो ।

अफगानिस्तानलाई ऐतिहासिक सिरिज जिताउन राशिद खानले ९ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । नान्गियालिया खारोटेले ४ तथा अज्मतुल्लाह ओमरजाइले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर रमिउल्लाह गुर्वाजको शतकमा ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ११ रन जोडेको थियो ।

गुर्वाजले १ सय १० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५ रन जोडेका थिए । अज्मतुल्लाह ओमरजाइले ५० बलमा ५ चौका र ६ छक्कासहित नट आउट ८६ रन बनाएका थिए । रहमत शाहले ६६ बलमा ५०, रियज हसनले ४५ बलमा २९ र राशिद खानले १२ बलमा नट आउट ६ रन जोडेका थिए ।

दक्षिण अफ्रिकाका लागि लुन्गि एन्गेडि, एडेन मारकम र नान्द्रे बर्गरले समान १ विकेट लिए । दुई टोलीबीचको तेस्रो ओडिआई खेल आइतवार रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy