प्रधानमन्त्री कप मङ्सिर अन्तिम साता आयोजना हुने

२०७८ मंसिर १, बुधबार १०:१९

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको पाँचौ संस्करण मङ्सिर अन्तिम साता सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) को बुधबार बसेको भर्चुवल बैठकले प्रतियोगिता पुष १५ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कपको पछिल्लो संस्करणको आयोजना गत वर्ष माघ महिनामा भएको थियो जसको उपाधि त्रिभुवन आर्मी क्लबले जिएको थियो।

क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छनोट गर्न संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा कोषध्यक्ष रोशन कुमार सिंह, मह प्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर बिनोद कुमार दास तथा एक जना अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को प्रतिनिधि रहने गरि ५ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको छ। नोभेम्बर अन्तिम सम्म नयाँ प्रशिक्षक घोषणा गर्ने क्यानले बताएको छ।

नयाँ प्रशिक्षक नियुक्त भए लगत्तै क्यानले डिसेम्बर १ तारिख देखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्नेछ। सेप्टेम्बरमा ओमान भ्रमण पछि नेपाली राष्ट्रिय टिमले अभ्यास सुरुवात गरेको छैन।

क्यान बैठकले संघको वार्षिक साधारणसभा पुष १४ र १५ गते धनगढीमा आयोजना गर्ने पनि निर्णय गरेको छ। संघले आर्थिक कार्यविधि पनि पारित गरेको छ। यस्तै संघको विधान अनुसार ४ वर्षीय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघहरुको जिल्ला अधिवेशन यसै वर्ष माघ ७ गते भित्र सम्पन्न गर्न जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने निर्णय समेत गरिएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy