विश्वकप लिग टु : अमेरिकाको लगातार चौथो जित

२०८१ आश्विन ८, मंगलवार २२:०६

एजेन्सी । अमेरिकाले विश्वकप लिग टुमा लगातार चौथो जित हासिल गरेको छ ।

नामिबियामा जारी लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा युएईलाई १ सय ३६ रनले हराउदै अमेरिकाले लगातार चौथो जित निकालेको हो ।

पहिलो खेलमा नामिबियालाई ६ विकेटले हराएको अमेरिकाले दोस्रो खेलमा युएईलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा फेरी घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको थियो ।

अमेरिकाले दिएको ३ सय ४० रनको विशाल लक्ष्य पछ्याएको युएईले ३६.२ ओभरमा अल आउट हुदै २ सय ३ रन मात्र बनाउन सक्यो ।

युएईका लागि राहुल चोपराले ४४ बलमा सर्वाधिक ५२, आसिफ खानले ४९ बलमा ५१ तथा बासिल हमिदले ४३ बलमा नट आउट ५० रन जोडे । कप्तान मोहम्मद वासिमले १२,आर्याशं शर्माले ११ तथा आयान खानले १० रन बनाए ।

अमेरिकाका लागि सौरभ नेत्राभाल्कर र नोष्तुश केन्जिकेले समान ३ तथा जसदिप सिंहले १ विकेट लिए ।

त्यसअघि युनाईटेड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ३९ रनको विशाल योगफल तयार गरेको थियो ।

अमेरिकाका लागि साईतेजा मुककामल्ला र मिलान्ड कुमारले शतकीय ईनिङ खेले । मिलान्डले १ सय १० बलमा १६ चौका र ५ छक्काको सहयोगमा नट आउट १ सय ५५ रन बनाए । मिलान्डले लिग टु कै ईतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर बनाए । यसअघि नामिबिया जेपी कोट्जेले अमेरिकाविरुद्ध यो कीर्तिमान बनाएका थिए । कोट्जेले नट आउट रहदै १ सय ३६ रन बनाएका थिए ।

मुककामल्लाले ९९ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय ७ रन बनाएका थिए । ओपनर स्मिथ पटेलले ५८ बलमा ४९ तथा आन्द्रेश गौस र कप्तान मोनांक पटेलले समान ५ रन बनाए ।

युएईका लागि आयान खानले २ तथा जुनैद सिद्धिकी र अलि नासिरले समान १ विकेट लिए ।

अमेरिकाले नामिबियाको त्रिकोणात्मक ओडिआई सिरिजमा आफ्नो चार नै खेल जितेको छ । अब अमेरिकाको ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित युएई ६ खेलबाट २ अंक जोड्दै पुछारमा छ । समान २ अंक रहेको नेपाल भने पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy