सन्दीप र दीपेन्द्रको राम्रो प्रदर्शनका बाबजुद नाईट्स पराजित

२०८१ श्रावण १४, सोमबार ००:१५

नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भेनकुवर नाईट्सले क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा लगातार तेस्रो हार व्यहोरेको छ ।

नाईट्सले लगातार तेस्रो हार व्यहार्ने क्रममा मोन्ट्रियल टाइगर्ससँग पराजित हुन पुग्यो । आइतबार भएको खेलमा नाइट्स टाइगर्ससँग १० रनले पराजित हुन पुग्यो ।

टाइगर्सले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । नाइट्सका लागि रिजा हेनरिक्सले सर्वाधिक ३४ रन बनाए । उनले ३४ बलमा ५ चौका प्रहार गरेका थिए । ड्वेन प्रिट्रोरिसले २० बलमा ३१ रन बनाए ।

नेपाली ब्याटर दीपेन्द्र सिंह ऐरीले अविजित ३० रन बनाए । दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । दीपेन्द्रले १८ औ ओभरको पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरेका थिए । त्यस्तै १९ औं ओभरको पहिलो बलमा चौका प्रहार गरेका थिए । अन्तिम ओभरको पहिलो बलमा समेत चौका प्रहार गरे । सन्दीप लामिछाने १ रनमा अविजित रहे ।

हर्ष ठाकरले १८ तथा मुनिर अहमदले ११ रन जोडे । टाइगर्सका लागि आयान खानले ३ तथा अजमतुल्लाह उमरजाई र कलिम सानाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला बलिङ गरेको भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा रनमा १ सय ४४ रोकेको हो ।

भेनकुवरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । उनले दिलप्रित बाज्वालाई बोल्ड आउट गरेका थिए । यस्तै नेपाली अल राउण्डर दीपेन्द्र सिंह ऐरीले भने बलिङ गर्ने अवसर पाएनन् ।

यस्तै भेनकुवरका लागि मोहम्मद आमिर र ड्वेन प्रिटोरियसले समान २ र जेरेमी गोर्डनले १ विकेट लिए ।

मोन्ट्रियलका लागि कोर्विन बोस्च्सले २५ बलमा सर्वाधिक ३५ रन बनाए । यस्तै बाज्वाले २२ बलमा सर्वाधिक ३३ रन र अज्मतुल्लाह ओमारजाईले २७ रन बनाए ।

टिम साइफर्ट र आयान अफजल खानले समान १६ रन बनाए भने कप्तान क्रिस लिनले १० रन जोडे ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy