काठमाडौं । अस्ट्रेलियाले पाहुना टोली पाकिस्तानलाई पहिलो टि ट्वान्टी आई खेलमा सहज रुपमा पराजित गरेको छ । बिहीवार भएको खेलमा अस्ट्रेलिया डकवर्थ लुईस पद्दतीमा २९ रनले विजयी भएको हो ।
पहिलो टि ट्वान्टी आईमा जितका साथ अस्ट्रेलियाले तीन खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाका कारण खेल सात ओभरमा छोट्याईएको थियो ।
अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएका पाकिस्तानले निर्धारित ७ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र जोड्न सक्यो ।
पाकिस्तानका लागि अब्बास अफ्रिदीले १० बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट रहदै सर्वाधिक २० रन जोडे । हसिबुल्लाह खानले ८ बलमा १२ तथा शाहिन शाह अफ्रिदीले ६ बलमा ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका लागि जेभियर ब्राटलेट र नाथन एलिसले समान ३ तथा स्पेन्सर जोनसनले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित सात ओभरमा चार विकेट गुमाएर ९३ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रन जोडेका थिए । मार्कस स्टोईनेसले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ तथा टिम डेभिडले ८ बलमा १० रन बनाएका थिए ।
पाकिस्तानका लागि अब्बास अफ्रिदीले २ तथा नसिम शाह र हरिस रउफले समान १ विकेट लिएका थिए ।
यसअघि भएको तीन खेलको ओडिआई सिरिज पाकिस्तानले २-१ ले जितेको थियो । दुई देशबीचको दोस्रो टि ट्वान्टी आई शनिवार हुनेछ ।
