ओमानसंग इतिहासमै कम बलमा तथा दोश्रो कम योगफलमा समेटियो नेपाल

२०७६ आश्विन २३, बिहीबार १७:०९

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपाल आफ्नो अन्तिम तथा चौथो खेलमा आयोजक ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ। आजको खेलमा ठुलो अन्तरले जित हात पारे नेपालले सिरिज जित्ने सम्भावना रहेको थियो जुन सम्भावना अब सकिएको छ। यस अघि खेलको तिन वटै खेल जितेको ओमानले आज नेपाललाई पराजित गरे सिरिज जित्नेछ।

खेलमा टस जितेर ओमानले फिल्डिंग रोजेको नेपाली टिमले अत्यन्त कमजोर ब्याटिंग प्रदर्शन गर्दै मात्र ११ ओभरमा ६४ रनमा सम्पूर्ण विकेट गुमाएको छ।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नेपालको दोश्रो सबैभन्दा कम योगफल हो। यस अघि नेपाल सन् २०१५ को विश्वकप छनौटमा आयरल्याडसंग पहिले ब्याटिंग गर्दै मात्र ५३ रनमा समेटिन पुगेको थियो। ओमान बिरुद्ध नेपालले ११ ओभरमै सबै विकेट गुमायो जुन नेपालले खेलेको सबैभन्दा थोरै ओभर हो। आयरल्याण्डसंग नेपाल १४.३ ओभरमा अल-आउट भएको थियो।

नेपालको ब्याटिंगमा आरिफ शेखले सर्वाधिक २० रन तथा दिपेन्द्र ऐरीले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। आरिफले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

पहिलो ओभरमा इशान पाण्डेले २ रन बनाएर आउट भए जसपछि पारस खड्का तेश्रो ओभरमा ५ रन बनाएर आउट भए। चौथो ओभरमा दिपेन्द्र ऐरी आउट भए जसपछि बिनोद भण्डारी ४, सन्दिप जोरा  ० , सोमपाल कामि ८ , करन केसी ८, सन्दिप लामिछाने २ तथा अविनाश बोहरा २ रन बनाएर आउट भए।

आमिर कलिम नेपाल बिरुद्ध ५ विकेट लिने पहिलो बलर बने ( फोटो – पिटर डेला पेना )

नेपाललाई सानो योगफलमा समेट्न ओमानका देब्रे हाते स्पिनर अमिर कलिम एक्लैले ५ विकेट लिए। उनले ४ ओभरमा मात्र १५ रन खर्चिए। नेपाल बिरुद्ध कुनै पनि बिपक्षी टिमका बलरले लिएको यो सबैभन्दा धेरै विकेट तथा उत्कृस्ट बलिंग स्पेल हो। यस अघि कुनै पनि बलरले टि-२० अन्तर्राष्ट्रियमा नेपाल बिरुद्ध ५ विकेट लिन सकेका थिएनन्। हंगकंगका हसिब अमजद, नेदरल्याण्डका एहसान मालिक र सिंगापुरका विजयकुमारले यस अघि समान ४ विकेट लिएका थिए।

आमिर कलिमको ५ विकेट बाहेक ओमान ओपनिंग बलर बिलाल खानले २ विकेट ( २-०-१४-२ ) लिए जुन क्रममा इशान पाण्डे र पारस खड्कालाई आउट गरे। मोहम्मद नदीमले १ तथा खवर अलिले १ विकेट लिए।

प्रतियोगितामा यस अघि खेलेको ३ वटा खेलमा नेपालले हंगकंग र नेदरल्याण्डलाई पराजित गर्दा आयरल्याण्डसंग भने हार बेहोरेको थियो। आजको खेल ठुलो अन्तरले जिते नेपालले सिरिज जित्ने सम्भावना रहन्थ्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy