गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : मधेश र कर्णाली विजयी

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशले जित हात पारेका छन्। पहिलो खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई तथा दोस्रो खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेका हुन्।

दिनको पहिलो खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशका बिरुद्ध रोमाञ्चक खेलमा जित हात पार्यो। निर्धारित २० ओभरको खेल बराबरीमा सकिए पश्चात सुपर-ओभरमा धकेलिएको खेलमा मधेशले सुदुरपश्चिमलाई हराएको हो।

बिहिवार विहान टस हारेर ब्याटिंगको निम्तो पाएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो। मधेशका लागि रोहन विकले सर्वाधिक ४६ रन तथा कप्तान राहुल मण्डलले २३ रनको योगदान गरे। सुदुरपश्चिमको बलिङ्गमा शेर मल्ल, हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिएका थिए।

जवाफमा १२२ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाउदा खेल सुपरओभरमा धकेलिएको थियो। सुदुरपश्चिमको ब्याटिंगमा बसन्त खत्रीले ३८ र किरण ठगुन्नाले २३ रन बनाएका थिए। मधेशको बलिङ्ग तर्फ रन्जित कुमारले ३ विकेट हात परेका थिए।

सुपर-ओभरमा मधेशका लागि बलिङ्ग गर्न आएका रन्जित कुमारले केवल ७ रन खर्चिएपछि टोलीले ८ रनको लक्ष्य पाएको थियो। मधेशले सो लक्ष्य एक बल बाँकी रहँदै पुरा गर्यो।

यस्तै दिनको दोस्रो खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि ५ विकेटको जित हात पार्यो।

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको कोशी प्रदेश १९.३ ओभरमा केवल ९३ रनमा अल आउट भएको थियो। कोशीका लागि मिनास थापाले ३५, दिपेश कंडेलले २४ र सौजन घिमिरेले १८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन।

कर्णालीको बलिङ्गमा खेलको प्लेयर अफ दि म्याच चुनिएका दिपेन्द्र रावतले केवल १६ रन खर्चिएर ३ विकेट हात पारे। यस्तै प्रकाश जैसीले समेत ३ विकेट लिएका थिए।

जवाफमा आफ्नो नेट रन रेट सुधार गर्दै शिर्ष दुईमा पर्ने सम्भावना कायम राख्न आक्रामक ब्याटिंग गरेको कर्णालीले ६.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। यद्यपि जितपश्चात अझैपनि कर्णाली प्रदेश अंकतालिकामा नेट रन रेटका कारण तेस्रो स्थानमा रहेको छ।

कर्णालीको जितमा विपिन शाहीले १२ बलमा ३८ तथा मनिष थापाले १३ बलमा २७ रन बनाए। कोशीका लागि दिपेश कंडेलले ३ र सर्बण यादवले २ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्।

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम दिन शुक्रवार बागमती प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्दै छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy