गर या मरको अवस्थामा चेन्नाई र राजस्थान

२०७७ कार्तिक ३, सोमबार १४:०३

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार ३७ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किङ्ग्स र स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

यस अघि दुबै टोलि ९ खेलमा ६ अंक बटुल्दै नेट रन रेटको आधारमा सातौं (चेन्नाई) र आठौं स्थानमा (राजस्थान) छन्। शिर्ष-४ मा आफ्नो स्थान सुनिश्चित गर्न दुबै टोलिले आगामी ५ खेल जित्नै पर्ने हुन्छ। ४ खेल जितेको खण्डमा कुल १४ अंक हुनेछ र शिर्ष-४ मा पर्न अन्य टोलिको नतिजामा निर्भर रहनु पर्नेछ।

 

चेन्नाई :- ९ खेलमा ६ अंक बटुलेको चेन्नाईलाई शिर्ष-४ मा आफ्नो स्थान सुरक्षित पार्न आगामी ५ खेल जित्नै पर्ने दबाब छ। फाफ डुप्लेसिसले पछिल्लो खेलमा दिल्ली विरुद्ध अर्धशतकिय पारी खेल्दै पुन: लय पाएका छन्। शेन वाट्सन र अम्बाती रायडुको प्रदर्शन सन्तोषजनक छ। कप्तान धोनीको ब्याट हालसम्म शान्त रहेको छ। स्टार अल-राउण्डर स्याम करन र रविन्द्र जडेजाको प्रदर्शन शानदार रहेको छ जसले ब्याट र बल दुबै पक्षबाट योगदान दिरहेका छन्। चेन्नाईको ब्याटिंगमा फाफ, वाट्सन, रायडु र धोनीको ब्याटबाट रन बन्नु आवश्यक छ।

सुरुवाती खेलहरुमा मौका नपाएका शार्दुल ठाकुरले उत्कृष्ट प्रदर्शन गरेका छन्। किफायती बलिंग गर्दै उनले निर्णायक विकेट लिएका छन्। दिपक चहार, ड्वायन ब्राभोको प्रदर्शन सन्तोषजनक रहेता पनि उनिहरुको घातक बलिंग देख्न बाँकी रहेको छ। लेग-स्पिनर कर्ण शर्माको प्रदर्शन तारिफयोग्य छ।

राजस्थान :- पछिल्लो खेलमा बैंगलोर विरुद्ध ७ विकेटको हार बेहोरेको राजस्थान सुरुवाती २ खेलमा विजयी भएपछि पछिल्लो ७ खेलमा मात्र १ जित निकाल्न सकेको छ। हाल आठौं स्थानमा रहेको राजस्थानलाई शिर्ष-४ मा आफ्नो स्थान सुरक्षित गर्न बाँकी सबै खेल जित्नै पर्ने हुन्छ।

सुरुवाती २ खेलमा उत्कृष्ट प्रदर्शन गरेका संजु स्यामसन र कप्तान स्टिभ स्मिथले सोही प्रदशनलाई निरन्तरता दिन नसक्नुनै हारको कारण बनेको छ। ठूला खेलाडीको खराब प्रदर्शन बाबजुद राहुल तेवतियाले टिमको साख जोगाएका छन्। राजस्थानको तिनै जितमा अहम् भूमिका निर्वाह गरेका तेवतिया बाहेक अन्य ब्याट्सम्यानको ब्याटबाट रन बन्न सकेको छैन। विस्फोटक ब्याट्सम्यान जोस बटलरको प्रदर्शन कमजोर छ। भेट्रान ब्याट्सम्यान रोबि उथप्पाले पछिल्लो खेलमा ओपनिंग गरेर राम्रो प्रदर्शन गरेका थिए। आजको खेलमा स्टार-अलराउण्डर स्टोक्सले पुन: ओपनिंग गर्छन् या गर्दैनन् हेर्न लायक हुनेछ। राजस्थानलाई अब शिर्ष-४ मा प्रवेश गर्न आगामी खेलहरुमा एकताबद्ध भएर प्रदर्शन गर्नुपर्ने हुन्छ।

राजस्थानको बलिंगतर्फ तिव्र गतिका बलर जोफ्रा आर्चरले घातक बलिंग गरेका छन्। जारी सिजन १२ विकेट लिसकेका उनलाई अन्य बलरको साथ मिलेको छैन। जयदेव उनादकट र युवा फास्ट बलर कार्तिक त्यागिको प्रदर्शनमा स्थिरता छैन। श्रेयस गोपालको घातक बलिंग देख्न बाँकी छ। स्टोक्सको आगमनले टिममा नयाँ उर्जा मिलेता पनि हालसम्म खास प्रभाव परेको छैन।

पछिल्लो भेट :- लिग अन्तर्गत चौथो खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा राजस्थान १६ रनले विजयी भएको थियो। पहिले ब्याटिंग गरेको राजस्थानले २१७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा चेन्नाईले मात्र २०० रन बनाउन सकेको थियो।

दुबै टिममा हुन सक्ने परिवर्तन :-

चेन्नाई :- पछिल्लो खेलमा दिल्ली विरुद्ध हार बेहोरेको चेन्नाईले आज चोटिल ब्राभोको ठाउँमा इमरान ताहीरलाई स्थान दिनसक्छ। टिमसँग जग्द्देसन र चावला जस्ता खेलाडीको विकल्प रहेको छ।

चेन्नाईको सम्भावित ११ :- शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, केदार जाधब, महेन्द्र सिंह धोनी, स्याम करन, रविन्द्र जडेजा, इमरान ताहिर, दिपक चहार, शार्दुल ठाकुल, कर्न शर्मा

राजस्थान :- राजस्थानले आज जयदेव उनादकटको ठाउँमा पुन: अंकित राजपुतलाई मौका दिनसक्छ। टिमसँग मयन्क मार्कन्डे जस्तो लेग-स्पिनरको विकल्प रहेको छ।

राजस्थानको सम्भावित ११ : रोबि उथप्पा, जोस बटलर ( विकेटकिपर ), सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ), राहुल तेवतिया, रियान पराग, बेन स्टोक्स, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत/अंकित राजपुत, कार्तिक त्यागि

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy