टि-१० लिग : आबु धाबीको पहिलो जित, पारसले बनाए अविजित १ रन

२०७६ मंसिर १, आईतवार १९:३१

युएईमा जारि टि-१० लिग प्रतियोगिता अन्तर्गत पारस खड्का आबद्ध रहेको टिम ‘टिम आबु धाबी’ले पहिलो जित दर्ता गर्ने क्रममा नर्थर्न वारियर्सलाई ६ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिंग गर्दै नर्थर्न वारियर्सले दिएको ९३ रनको लक्ष्य आबु धाबीले ४ विकेट गुमाएर ८.३ ओभरमा पुरा गर्यो। आबु धाबीले यस अघि खेलेको कलन्दर्स बिरुद्धको खेल बराबरीमा टुंगिएको थियो। आबु धाबीले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा कलन्दर्सले पनि १०३ रननै बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा आबु धाबीको लागि लुक राइटले सर्वाधिक ४८ रन बनाए जुन क्रममा २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान मोइन अलिले ३० रन बनाए। अलिले २० बलमा २ चौका र १ छक्का प्रहार गरे। जितको नजिक हुँदा कप्तान अलि र राइट लगातार आउट हुँदा पारस खड्काले इनिंगको अन्तिममा ब्याटिंग गर्न मौका पाए।

जित्न मात्र २ रन बाँकी हुँदा पारस ब्याटिंग गर्न पुगे जसले अविजित १ रन बनाए। उनले सामना गरेको पहिलो बललाई लंग अनमा हानेर १ रन लिएका थिए। लगत्तै बलमा टिमले खेल जित्यो। पहिलो खेलमा पनि पारस ३ बलमा ३ रनमा अविजित रहेका थिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नर्थर्न वारियर्सले १० ओभरमा मात्र १ विकेट गुमाएर ९२ रन बनाएको थियो। उसको लागि आन्द्रे रसेलले सर्वाधिक ३७ तथा स्याम बिलिंग्सले ३५ रन बनाए। पहिलो विकेटको रुपमा ड्यारेन स्यामी १७ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि बिलिंग्स र रसेलले ६३ रनको साझेदारी गरेका थिए। रसेलले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने बिलिंग्सले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे।

लिग अन्तर्गत आजै नेपाली समय ७:३० बजे सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले बंगला टाइगर्सको सामना गर्दै छ। सन्दिपको टिम कर्नाटकाले पहिलो खेलमा जित दर्ता गर्ने क्रममा दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy