नेपाल अपराजित रहँदै सेमिफाइनलमा

२०८१ बैशाख ५, बुधबार १५:५७

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल साउदी अरेबियालाई पराजित गर्दै अपराजित रुपमा सेमिफाइनलमा स्थान सफल भएको छ ।

ओमानमा भएको खेलमा नेपाल ६ विकेटले विजयी हुदै अपराजित रुपमा सेमिफाइनलमा स्थान बनाउँन सफल भयो ।

साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि गुलसन झाले १९ बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ९ बलमा ३ चौकाको सहयोगमा १७ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १६ रन बनाए ।

पाँचौ विकेटका लागि झा र पौडेलले अविजित २७ रनको साझेदारी गर्दै नेपाललाई विजयी बनाए ।

ओपनर कुशल भुर्तेल पहिले ओभरको दोस्रो बलमा गुमाएर नेपालले खराब सुरुआत गरेको थियो । दोस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर आशिफ शेख २ रन बनाउँदै आउट भए पछि नेपाल थप संकटमा परेको थियो ।

नेपालले तेस्रो ओभरको दोस्रो बलमा कुशल मल्ललाई गुमायो । चौथो विकेटका लागि झा र ऐरीले ३३ रनको साझेदारी गर्दै नेपाललाई सहज स्थितिमा पुर्याएका थिए ।

साउदीका लागि इस्तिहाक अहमदले दुई तथा वाजी उल हसन र उस्मान नजिबले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ६ विकेट गुमाएर ७४ रन बनायो । गयरातीको वर्षाका कारण खेल ढिला सुरु हुँदा खेल ८ ओभरमा छोट्याईएको थियो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ रन बनाए । साउदीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि अभिनास बोहोरा तथा करण केसीले समान दुई दुई तथा ललितनारायण राजवंशी र प्रतिश जिसीले समान एक एक विकेट लिए ।

नेपाल यस खेल अघि नै समूह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । साउदीलाई सेमिफाइनलमा स्थान बनाउँन यो खेलमा जितको विकल्प थिएन ।

साउदी पराजित भएसँगै हङकङले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy