पिपिएल : काठमाडौँको लगातार दोश्रो जित, बिराटनगर ३६ रनले पराजित

२०७६ पुष ५, शनिबार २०:४४

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत शनिवार सम्पन्न एक मात्र खेलमा काठमाडौँ गोल्डेन वारियर्सले बिराटनगर टाईटन्स लाई पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। जितसंगै काठमाडौँ ४ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै काठमाडौँले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १९.४ ओभरमा १२३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको बिराटनगरले पहिलो ६ विकेट ४१ रनको योगफलमा गुमाएको थियो। मोहम्मद जैद आलम, सुनिल धमला, दिलिप नाथ र राजु रिजाल समान १ रन बनाएर आउट भए। कप्तान प्रदिप ऐरी २९ तथा राजेश पुलामी २ रन बनाएर आउट भए।

सातौँ विकेटको लागि नोमन खान र पुनित मेहराले ७९ रनको साझेदारी गरे पनि टिमलाई जितसम्म पुर्याउन सकेनन्। मेहराले ३१ बलमा ३ चौका र ३ छक्का मदतले ५३ रन बनाए भने खानले २६ बलमा २५ रन बनाए।

काठमाडौँको बलिंगमा सुबोध भाटीले सर्वाधिक ३ विकेट तथा बसन्त रेग्मी र अमर सिंह राउटेलाले २/२ विकेट लिए। सुशन भारिले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको काठमाडौँले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो।

काठमाडौँको लागि ओपनर जयकिशन कोल्सावालाले सर्वाधिक ५५ रन बनाए। कोल्सावालाले ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै अघिल्लो खेलमा शतक बनाएका कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए। अमित श्रेष्ठले १७, सुबोध भाटीले १४ तथा आदील खानले अविजित १३ रन बनाए।

ओपनर गौरभ तोमर पहिलो ओभरमा किशोर महतोबाट खाता नखोली आउट भए पछि दोश्रो विकेटको लागि कोल्सावाला र अमित श्रेष्ठले ४३ रनको साझेदारी गरेका थिए। छैटौं ओभरमा अमितलाई नोमन खानले बोल्ड गरे पछि तेश्रो विकेटको लागि कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्लले ६६ रनको साझेदारी गरे। १५ औं ओभरमा कोल्सावालालाई पुनित मेहराले क्याच आउट गराए। १७ औं ओभरमा ज्ञानेन्द्रलाई पनि पुनितले क्याच आउट गराए।

Jaykishan Kolsawala

काठमाडौँको बलिंगमा पुनित मेहराले २ विकेट ( ३-०-१५-२ ) लिंदा किशोर महतो, जितेन्द्र मुखिया र नोमन खानले समान १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बिराटनगरले पहिलो खेलमा धनगढी ब्लुजसंग ५ रनको हार बेहोरेको थियो। दोश्रो खेलमा भने शानदार पुनरागमन गर्ने क्रममा उसले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको थियो।

अर्को तर्फ काठमाडौँ पहिलो खेलमा पोखरा पल्टनसंग पराजित ९ विकेटले थियो। दोश्रो खेलमा बुटवल ब्लास्टर्ससंग ३ विकेटले पराजित भएपछि तेश्रो खेलमा भने कम्ब्याक गर्ने क्रममा काठमाडौँले धनगढी ब्लुजलाई १०६ रनले पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy