पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

२०८१ कार्तिक २७, मंगलवार १४:१२

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

मंगलवार युएईमा भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले पराजित गर्यो । नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाउन काहे अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान पुजाले चार ओभरमा आठ रन खर्चिएर पाँच विकेट लिईन् । रचना चौधरी र सिमाना केसीको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि युएईको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको विशाल योगफल तयार गर्यो ।

प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १ सय ३० रन बनाइन् । प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो ।

यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले बनाएकी थिइन् । उनले ९९ रन बनाएकी थिईन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।

पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो । गत फेब्रवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् । यू १९ महिला क्रिकेटमा भने यो नै पहिलो शतक हो ।

सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy