प्रधानमन्त्री कप : सर्वाधिक विकेट लिने ५ बलर

२०८० माघ २१, आईतवार ११:१२

काठमाडौं । प्रधानमन्त्री कपको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै उपाधी जित्न सफल भयो ।

यस प्रतियोगितामा सहभागी हरेक टोलीले कम्तिमा पनि ९ खेलमा सहभागीता जनाउने अवसर पाए । यस प्रतियोगिता स्पिन बलरहरुका लागि केही सुखद रहेको मान्न सकिन्छ ।

प्रतियोगिताको सर्वाधिक विकेट लिने पाँच बलरहरु यसप्रकारका रहेका छन् :

१) सुर्य तामाङ

प्रतियोगिताको सवोत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट बलर बन्न सफल तामाङले प्रतियोगिता अवधी भर ३ दशमलब ०५ को इकोनोमिमा ३० विकेट लिएका थिए । प्रतियोगिताको ईतिहासमा एकै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी समेत सुर्य हुन् ।

बागमती प्रदेशबाट खेल्दै ९ खेलमा उनले ३० विकेट लिएका हुन् । सुर्यको उत्कृष्ट बलिङको सहयोगमा शीर्ष चारमा रहँदै बागमतीले इलिट ट्रफिमा स्थान बनाएको छ । सुर्यले तीन खेलमा पाँच वा सो भन्दा बढी विकेट लिएका थिए । उनले लुम्बिनी प्रदेश र मधेश प्रदेशविरुद्ध समान ६ तथा विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध पाँच विकेट लिएका थिए ।

२) शेर मल्ल

सुदूरपश्चिम प्रदेशका खेलाडी मल्लले नौ खेलमा ४ दशमलब ६१ इकोनोमिमा २४ विकेट लिएका थिए । मल्लले कोशी र गण्डकी प्रदेशका विरुद्ध समान ५ विकेट लिएका थिए । प्रधानमन्त्री कपमा आफुले खेलेका ९ मध्ये तीन खेलमा उनी विकेट बिहिन रहे ।

३) ललितनारायण राजवंशी

नेपाल पुलिस क्लबलाई उपाधी जिताउन प्रमुख भुमिकामा रहेका राजवंशीले १० खेलमा २३ विकेट लिएका थिए । नेपाल एपीएफ क्लबविरुद्धको खेलमा राजवंशीले ५ विकेट लिएका थिए । १० मध्ये दशै खेलमा राजवंशीले विकेट लिएका छन् ।

४) साहब आलम

त्रिभुवन आर्मीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भुमिकामा रहेका आलमले १० खेलमा २३ विकेट लिएका थिए । आलमले कोशी प्रदेशविरुद्ध ६ विकेट लिएका थिए । उनले १० मध्ये दशै खेलमा विकेट लिएका थिए ।

५) विपिन खत्री

गण्डकी प्रदेशका कप्तान समेत रहेका खत्रीले ९ खेलमा २० विकेट लिएका थिए । खत्रीले कोशी प्रदेशविरुद्ध ४ रन मात्र खर्चिएर ६ विकेट लिएका थिए । उनले खेलेका ९ मध्ये एक मात्र खेलमा विकेट विहिन रहे ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy