बलमा थुक प्रयोग प्रतिबन्ध पछि इशान्त शर्माले पोखे असन्तुष्टि, प्रतिस्पर्धा बराबरीको हुनुपर्छ

२०७७ जेष्ठ ३०, शुक्रबार २१:०४

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले कोरोना महामारी पछि क्रिकेट सुरु गर्दा बलरहरुलाई बल चम्काउन थुक प्रतिबन्ध गर्ने निर्णय गरेको छ। आईसीसीको निर्णय पछि यस बारे बिभिन्न धारणा आउने क्रम निरन्तर छ। भारतीय तिब्र गति बलर इशान्त शर्माले थुकको प्रतिबन्ध पछि ब्याट्सम्यानलाई धेरै सहज हुने बताएका छन्।

भारतको लागि ९७ टेस्टमा २९७ टेस्ट विकेट लिएका शर्माले खेलमा बलरले बल चम्काउन नपाएको खण्डमा बल स्विंग नहुने हुँदा ब्याट्सम्यानलाई मद्दत मिल्ने धारणा राखेका हुन्।

“यदी हामिले बल नचम्काए स्वतः बल स्विंग हुँदैन र स्विंग नभए ब्याट्सम्यानको लागि सहज हुने छ। मलाई लाग्छ कि प्रतिस्पर्धा बराबरीको हुनु पर्छ नकी ब्याट्सम्यानको लागि बढी फाइदा। ” स्टार स्पोर्ट्ससंग कुराकानीमा ३१ वर्षीय बलरले बताए।

“मलाई लाग्छ कि सबैभन्दा ठुलो कुरा बलमा थुक लगाउनबाट बच्नु हुनेछ। किनकि हामिलाई रातो बल चम्काउने बानि नै छ।”

स्पिनरलाई पनि जरुरि छ थुक : युझवेन्द्र चहल

अर्का भारतीय स्पिनर युझवेन्द्र चहलले थुक प्रतिबन्धले फास्ट बलरलाई मात्र नभएर स्पिनरलाई पनि नोक्सान हुने बताएका छन्।

एक अन्तर्वार्तामा उनले बताए -“जब तपाई थुक जस्तो प्राकृतिक तत्वको उपयोग गर्नुहुन्छ त्यसले फास्ट बलरलाई स्विंग र स्पिनरको रुपमा मलाई बीचको ओभरहरुमा ड्रिफ्ट गर्न मद्दत गर्छ”

“एक स्पिनरको रुपमा ड्रिफ्ट मिलेन भने बलिंग गर्न मुस्किल हुन्छ त्यसैले थुक निकै जरुरि छ” ९४ एकदिवसीयमा १४६ विकेट लिएका चहलले बताए।

यस अघि भारतीय महान क्रिकेटर सचिन तेन्दुलकरले पनि थुक प्रतिबन्धले ब्याट्सम्यानलाई सहज हुने जसले खेललाई प्रतिकुल असर गर्ने बताएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy