महिला यु १९ विश्वकप छनोट : नेपालद्वारा थाइल्याण्ड पराजित

२०८१ कार्तिक २५, आईतवार १८:२१

काठमाडौं । युएईमा जारी महिला यु १९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले थाइल्याण्डलाई पराजित गरेको छ ।

आइतवार युएईको अजमानमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अल आउट भयो ।

नेपालको उत्कृष्ट बलिङको कारण थाइल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्याण्डका ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।

नेपालका लागि कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिईन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।

नेपालका लागि ओपनर साना प्रविनले ४६ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ५३ रन जोडिन् । सानाले नेपालका लागि प्रतियोगितामा पहिलो अर्धशतक बनाईन् ।

अर्का ओपनर सावित्री धामीले २६ बलमा २८, सोनी पाख्रिनले १० बलमा १९ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।

आजको जितपछि ४ खेलमा ३ जित र १ हार बेहोरेको नेपाल ६ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा यथावत छ। ४ खेलमा शतप्रतिशत जितपछि युएई ८ अंक सहित शिर्षमा छ। थाइल्याण्ड ४ खेलमा १ जित पछि २ अंक सहित तेश्रो तथा ४ वटै खेलमा पराजित कुवत चौंथो स्थानमा छ।

प्रतियोगिता जित्ने टिम आगामी वर्ष मलेसियामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुने हुँदा नेपालले बाँकी खेल जित्दै युएईको हारको समेत कामना गर्नुपर्नेछ। नेपालले पाँचौं खेलमा मंगलवार कुवेतसँग तथा छैठौं तथा अन्तिम खेल बुधबार घरेलु टोलि युएईसंग खेल्नेछ।

१३ नोभेम्बर सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy