माल्दिभ्स ६ रनमै अल आउट, टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम योगफल

२०७६ मंसिर १९, बिहीबार १७:१०

१३ औं साग अन्तर्गत पोखरामा जारि महिला क्रिकेट अन्तर्गत बंगलादेशसंगको खेलमा माल्दिभ्सले लज्जास्पद रेकर्ड बनएको छ। आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा माल्दिभ्सले अर्को विशाल अन्तरको हार बेहोरेको छ।

पोखरा रंगाशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा बंगलादेशले दिएको २५६ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले ६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। माल्दिभ्सले १२.१ ओभर ब्याटिंग गरेता पनि ६ रन मात्रै बनाउन सकेपछि २४९ रनको हार बेहोर्यो। २४९ रनको हार महिला टि-२० अन्तर्राष्ट्रिय इतिहासकै तेश्रो ठुलो रन अन्तरको हार हो।

विशाल लक्ष्य पछ्याउने क्रममा पहिलो ओभर देखि विकेट गुमाएको माल्दिभ्सले खाता नखोल्दै २ विकेट गुमाएको थियो। त्यसपछि २ रनको अवस्थामा ४ विकेट गुम्दा २/६ को अवस्थामा पुगेको थियो। त्यसपछि ३ रन बनाउदा सातौँ विकेट, ४ रन बन्दा आठौँ विकेट गुमाएको माल्दिभ्सले त्यसपछि ६ रनको योगफलमा अन्य २ विकेट गुमाएको हो।

माल्दिभ्सको ब्याट्सउमनहरुले प्राप्त गरेको रन पनि सट खेलेर भन्दा पनि ब्याटको किनारा लागेर थियो। एउटा बाई र एउटा वाइडको रुपमा उसले २ रन प्राप्त गर्यो।

माल्दिभ्सको लागि दशौँ नम्बरमा ब्याटिंग गरेकी इशाल मारियम इब्राहिमले सर्वाधिक २ रन बनाईन् भने सजा फातिमा र किनानाथ फाथमा स्माइलले समान १/१ रन बनाइन्। अन्य ८ जना माल्दिभ्स ब्याटरले खाता समेत खोल्न सकेनन्।

बंगलादेशको बलिंगमा ऋतु मोनी ( ४-३-१-३ ) र सालमा खातुन ( ३.१-१-२-३ ) ले समान ३/३ विकेट हात पारिन्। स्कोरकार्ड

महिला टि-२० अन्तर्राष्ट्रियकै कम योगफल 

टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ६ रन सबैभन्दा कम योगफल हो। माल्दिभ्स भन्दा अघि यसै वर्ष जुनमा रुवान्डासंग माली महिला क्रिकेट टिम पनि ६ रनमै समेटिएको थियो। सो रेकर्ड माल्दिभ्सले बराबरी गरेको हो।

जारि प्रतियोगितामा माल्दिभ्सले नेपालसंग पनि मात्र १६ रन बनाएको थियो। यस्तो श्रीलंकासंग भने उसले ३० रन बनाएको थियो। यस क्रममा नेपालसंग १० विकेटले, श्रीलंकासंग २४९ रनले पराजित भएको थियो।

माल्दिभ्सले महिला अन्तर्राष्ट्रिय क्रिकेटमा साग देखि पाइला चलेको हो। यो माल्दिभ्स महिला क्रिकेट टिमको पहिलो प्रतियोगिता हो।

हार पछि माल्दिभ्स कप्तान जोना मारियमले आफ्नो टिम नयाँ भएको र सिक्ने क्रममा रहेको प्रतिक्रिया दिईन्।

बंगलादेशको ब्याटिंग 

टस जितेर ब्याटिंग रोजेको बंगलादेशले २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो।

सुरुवाती २ विकेट १९ रनमै गुमाएपछि तेश्रो विकेटको लागि निगर सुल्ताना र फर्गाना हकले दोहोरो शतकीय साझेदारी गरेका थिए। सुल्तानाले अविजित ११३ रन बनाइन् जुन क्रममा ६५ बलमा १४ चौका र ३ छक्का प्रहार गरिन्। यस्तै फर्गानाले ११० रन बनाउने क्रममा ५३ बलमा २० चौका प्रहार गरिन्।

साग महिला क्रिकेट अन्तर्गत माल्दिभ्सले खेलेको ३ वटै खेलमा हार बेहोर्यो। बंगलादेश तिन वटै खेलमा जितको साथ फाइनल प्रवेश गरेको छ। अब शुक्रबार हुने खेलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्नेछन्। नेपालले श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल र श्रीलंका मध्ये एक टिम नेट रन रेटको आधारमा फाइनल प्रवेश गर्ने छ। श्रीलंकाले बंगलादेशसंग हार बेहोरेको थियो भने माल्दिभ्सलाई पराजित गरेको थियो।

अंक तालिकामा शिर्ष स्थानमा रहने २ टिमले स्वर्ण पदकको लागि खेल्नेछ भने तेश्रो र चौथो हुने टिमले कास्य पदकको लागि खेल्नेछ। महिला क्रिकेटमा नेपाल सहित माल्दिभ्स, श्रीलंका र बंगलादेश गरि मात्र ४ टिमले सहभागिता जनाएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy