यु-१९ टिमको टेष्ट राष्ट्रलाई आश्चर्यमा पार्ने लक्ष्य

२०७८ पुष ६, मंगलवार ०९:३५

काठमाडौँ, पुस ५ गते । यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली सोमबार युएई प्रस्थान गरेको छ । युएईमा डिसेम्बर २३ बाट सुरु हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक बसन्त शाही ठकुरीले बताए।

‘लामो समयपछि यू–१९ क्रिकेट खेल्ने अवसर आएको छ । टेष्ट राष्ट्रलाई आश्चर्यमा पार्दै नकआउट चरणमा पुग्ने लक्ष्य राखेका छौँ । छोटो तयारी भएपनि टोलीका खेलाडीमा आत्मविश्वास बढेको छ,’ ठकुरीले बताए । पहिलो पटक टोलीको कप्तानी सम्हालेका देव खनालले राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए ।

एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ बाट नेपालसँगै श्रीलंका, बंगलादेश र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र आयोजक युएई रहेका छन् ।

प्रतियोगितामा नेपालले पहिलो खेल डिसेम्बर २३ मा बंगलादेश, दोस्रो खेल डिसेम्बर २५ मा श्रीलंका र समूह चरणको अन्तिम खेलमा डिसेम्बर २८ तारिख कुवेतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल डिसेम्बर ३० तारिख हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सम्पन्न वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टोलीमा समावेश गरेको हो ।

टोलीमा कप्तान देव खनालसँगै उपकप्तानमा शेर मल्ल, दपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् । नेपाली टोलाीलाई सोमबारनै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले विदाई गरे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy