रोहित पौडेलले टि-२० मा एमसीसी बिरुद्ध कप्तानी गर्ने

२०७६ कार्तिक २२, शुक्रबार २१:०८

नेपाल भ्रमणमा रहेको बेलायतको मेरीलेबोन क्रिकेट क्लबले काठमाडौँमा अन्तिम खेल शनिवार खेल्दैछ। खेल ११ बजे सुरु हुनेछ।

नेपालको सिनियर र अन्डर-१९ राष्ट्रिय खेलाडीहरु मिश्रित टिम बिरुद्ध खेलिने टि-२० मा रोहित पौडेलले नेपालको कप्तानी गर्ने भएका छन्।

राष्ट्रिय टिमका प्रशिक्षक उमेश पटवालले एमसीसीसंग आज तिन दिवसीय खेल पछि रोहित पौडेलले कप्तानी गर्ने बताएका हुन्। रोहितले यस अघि नेपाली अन्डर-१९ टिमको कप्तानी सम्हालीसकेका छन्।

एमसीसी बिरुद्ध मिश्रित टिममा को-को खेलाडी हुने छन् अहिलेसम्म तय भएको छैन। ५० ओभर र तिन दिवसीय खेल लगातार खेलेको हुँदा अधिकांश खेलाडीहरुले भोलि आराम गर्नेछन्। एमसीसीसंग यस अघि ५० ओभर र तिन दिवसीय टिममा मौका नपाएका खेलाडीहरु अमित श्रेष्ठ, नन्दन यादब, सुशन भारि, कुशल भुर्तेलजस्ता खेलाडीहरुले मौका पाउने सम्भावना रहेको छ। आसिफ शेख, भिम शार्की, सन्दिप जोरा, अविनाश बोहरा, जितेन्द्र मुखिया, बिक्रम सोब, कुशल मल्ल, राशिद खान जस्ता खेलाडीहरुले मौका पाउन सक्छन।

अमित श्रेष्ठ टि-२० टिममा रहेका छन्

एमसीसीले नेपाल भ्रमण अन्तर्गत ३ वटा खेल खेलीसकेको छ। नेपाली यु-१९ टिमसंग खेलिएको पहिलो खेलमा एमसीसी ३८ रनले विजयी भएको थियो। दोश्रो खेलमा नेपाली राष्ट्रिय टिमले एमसीसीलाई ५ विकेटले पराजित गरेको थियो। आज सम्पन्न तिन दिवसीय खेलमा एमसीसी २०८ रनले विजयी भयो।

शनिवार टि-२० खेलेपछि आइतबार एमसीसी पोखरा प्रस्थान गर्नेछ। पोखरामा एमसीसीले कार्तिक ११ र १२ गते मुख्यमन्त्रि-११ र कास्की-११ टिमसंग दुइवटा टि-२० खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy