सन्दिपको बलमा पोलार्डको छक्का वर्षा, कर्नाटका पराजित

२०७६ मंसिर २, सोमबार २०:०४

युएईमा जारि टि-१० लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले डेक्कन ग्ल्याडीएटर्ससंग हार बेहोरेको छ।

लिग अन्तर्गत पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको कर्नाटकाले दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग हार बेहोरेको थियो।  ३ खेलमा १ जित र २ हार पछि समुह ‘ए’ अंकतालिकामा कर्नाटका २ अंकसहित तेश्रो स्थानमा रहेको छ। डेक्कन भने ३ खेलमा २ जित र १ हार पछि ४ अंक बटुल्दै पहिलो स्थानमा उक्लियो।

सेख जायद स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै कर्नाटकाले १० ओभरमा ३ विकेट गुमाएर ११० रन बनाएको थियो। उसको लागि कप्तान हाशिम अमलाले अविजित ३२ रन ( १९ बलमा ४ चौका ) तथा ओपनर जोंन्सन चार्ल्सले सर्वाधिक ३५ रन ( १८ बलमा ५ चौका र १ छक्का ) बनाएका थिए। इभिन लुइसले २३ रन बनाए।

१११ रनको लक्ष्य डेक्कनले मात्र ८.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। पहिलो ४ विकेट ३७ रन बनाउदै गुमाएको डेक्कनलाई काइरन पोलार्डले विस्फोटक इनिंग खेल्दै जितसम्म पुर्याएका थिए। उनले मात्र २२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। भानुका राजपक्षले ७ बलमा २ चौका र ३ छक्का मदतले २७ रन बनाए।

कर्नाटकाको बलिङ्गमा शपुर जद्रानले सर्वाधिक २ तथा मालिन्दा पुस्पकुमारा, प्याट्रिक ब्राउन र एहमद राजाले १/१ विकेट लिए। नेपाली स्पिनर सन्दिप लामिछाने भने विकेट विहिन रहे।

सन्दिपको बलिङ्गमा पोलार्डको छक्का वर्षा 

पहिलो ओभर – ५ रन ( २ , ० , १ , १ , १ , ० )

खेलको चौथो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले उत्कृस्ट बलिङ्ग गरे। स्ट्राइकमा रहेका पोलार्ड र देभसिचले खुलेर ब्याटिंग गर्न सकेनन्। गुल्गी र लेग स्पिनको सन्दिपले राम्रो मिश्रण गरे।

दोश्रो ओभर – ३० रन ( ६ , ६ , ६ , ६ , ४ , २ )

पहिलो ओभर राम्रो गरेपछि दोश्रो ओभर लगत्तै स्पेलमा बलिङ्ग गर्न आएका सन्दिपलाई काइरन पोलार्डले निरिह सावित गरे। ओभरको पहिलो बलमा डिप मिड विकेट माथि छक्का प्रहार गर्दै सुरुवात गरेका पोलार्डले त्यसपछि लगातार छक्का प्रहार गरे। लगातार एउटै दिशामा पोलार्डले आफ्नो बलको उपयोग गरेर छक्का प्रहार गरे।

सन्दिपको सोहि ओभरको बलमानै डेक्कनले खेल जित्न सफल भयो। २ ओभरमा सन्दिपले ३५ रन खर्चिए।

दोश्रो महँगो स्पेल 

टि-१० लिग करियरमा सन्दिपको यो दोश्रो सबैभन्दा खराब स्पेल हो। गत सिजन केरला नाइट्सको लागि खेल्ने क्रममा सन्दिपले नर्थर्न वारियर्स बिरुद्ध २ ओभरमा ४७ रन खर्चिएका थिए। उक्त खेलमा सन्दिपलाई आन्द्रे रसेलले लगातार ३ छक्का प्रहार गरेका थिए। यस्तै निकोलस पुरनले कुल ४ छक्का प्रहार गरेका थिए।

लिग अन्तर्गत सन्दिपले यस अघि खेलेको २ वटा खेलमा भने राम्रो प्रदर्शन गरेका थिए। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट लिएका सन्दिपले दोश्रो खेलमा ११ रन खर्चेर २ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy