१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ।
ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार सुरु भएको प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहले गर्नु भएको थियो।
प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुईवटा खेलमा एसएचए एण्ड एसोसिएट्स ( SHA & ASSOCIATES ) र केएएसए युपीबि युथ्स ( KASA UPB YOUTH ) विजयी भएका छन्।
आजको पहिलो खेलमा एसएचए एण्ड एसोसिएट्सले सुजन काफ्ले एण्ड एसोसिएट्सलाई १३ रनले पराजित गर्यो। ५८ रनको लक्ष्य पाएको सुजन काफ्ले एण्ड एसोसिएट्सले ४४ रन मात्र बनाउन सक्यो।
एसएचए एण्ड एसोसिएट्सको जितमा सुजन ढकालले १९, अशोक मिश्राले १३ रन बनाए भने बलिंगमा बिनय यादव र सन्दिप कुमार उपाध्यायले समान १ विकेट लिए।
आजको दोश्रो खेलमा केएएसए युपीबि युथले एनएआरएस एण्ड केएमयु एसोसिएट्सलाई ९ विकेटले पराजित गर्यो। ७० रनको लक्ष्य पाएको युथ्सले ७. ३ ओभरमा लक्ष्य पुरा गर्यो।
केएएसए युपीबि युथको जितमा किरन केसीले अविजित ३६, नोम साहले १८ रन तथा किशोर पुजारा र सुरज यादवले समान १ विकेट लिए।
९ दिन सम्म चल्ने प्रतियोगितामा १३ टिम सहभागी छन्।
प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।
बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।