बिपी कोइराला स्मृति कप : बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देहीको दोश्रो जित 

रुपन्देही। रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा बंगलादेशको साइक क्रिकेटर्स र नेपाली टिम नेक्सस रुपन्देही एघार विजयी भएको छ।

आजको पहिलो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा श्रीलंकन टिम श्रीलंका स्टेट सर्भिसेजलाई ८ विकेटले पराजित गर्यो।

श्रीलंकन टिमले दिएको ११३ रनको लक्ष्य साइक क्रिकेटर्सले ९ ओभर बाँकी हुँदै २ विकेट गुमाएर भेटायो। साइकको लागि ओपनर मुनिम शाहरियरले अर्धशतकीय योगदान दिए जुन क्रममा ३० बलमा ७ चौका र २ छक्का मद्दतले ५१ रन प्रहार गरे। साद मोशरफले २५, फैसलले अविजित २२ तथा रकिबले १२ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनायो।

श्रीलंकन टिमको ब्याटिंगमा ओपनरद्वय ननि वसुपालीले सर्वाधिक ५४ रन बनाए भने राज वीरले ३२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७२ रनको ओपनिंग साझेदारीलाई उसले ठूलो योगफलमा परिणत गर्न सकेन।

साइक क्रिकेटर्सका बलर सहादत रहमान र मोहम्मद रेफले २/२ विकेट तथा रकिबले १ विकेट लिए।

आजको दोश्रो खेलमा नेक्सस रुपन्देही एघारले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्यो। तेश्रो खेल खेल्दा नेक्सस रुपन्देहीको यो दोश्रो जित हो।

जावेद गोहरले दिएको ८१ रनको लक्ष्य नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेट गुमाएर भेटायो।

नेक्सस रुपन्देहीको लागि सुमित महर्जनले सर्वाधिक २८ रन बनाए जुन क्रममा १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै ओपनर म्रिनाल गुरुङले सर्वाधिक २० रन बनाए जुन क्रममा उनले अविजित रहँदै २५ बलमा २ चौका प्रहार गरे। पाकिस्तानी टिमको बलिंगमा जईम खानले ३ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीले १८.१ ओभरमा ८० रनमा सबै विकेट गुमायो। पाकिस्तानी टिमको लागि शमुन इक्बालले १६, कप्तान इमरान नाजिरले १२ तथा अलि हुसेनले १० रन बनाए।

नेक्सस रुपन्देहीको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ४ विकेट लिए। आलमले ३. १ ओभरमा १० रन खर्चिए। अर्का देब्रे हाते स्पिनर बसिर अहमदले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। पहिलो खेल खेलेका देब्रे हाते स्पिनर दिपेश कंडेलले २ तथा कप्तान कृष्ण कार्कीले १ विकेट लिए।

तेश्रो दिनको खेलहरु पछि अंकतालिकामा भारतको लाइफ केयर क्रिकेट क्लब दुवै खेलमा जितको साथ ४ अंक सहित शिर्ष स्थानमा छ। बंगलादेशको साइक क्रिकेटर्स पनि दुवै जित पछि ४ अंक सहित नेट रन रेटमा पछि हुँदै दोश्रो स्थानमा छ। नेक्सस रुपन्देही ३ खेलमा २ जित र १ हार पछि तेश्रो स्थानमा छ। जित विहिन पाकिस्तानको जावेद गोहर ३ खेल पछि अंकविहिन छ। श्रीलंकाको टिम श्रीलंका स्टेट सर्भिसेस क्रिकेट एसोसिएसन पनि दुवै खेलमा हार पछि अंकतालिकाको पुछारमा छ। सहभागी पाँच टिमले एक अर्का विरुद्ध १/१ खेल खेलेपछि शिर्ष ४ टिम सेमीफाइनलमा पुग्नेछन्।

प्रतियोगिता अन्तर्गत चौंथो दिन मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्ससंग तथा दोश्रो खेल दिउँसो १ बजे श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेस र भारतको लाइफ केयर क्रिकेट क्लब बीच खेलिनेछ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पांच देशका क्लब टिमहरुको सहभगिता छ। प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा भइरहेको छ।

स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले थम पुरस्कार स्वरूप ५ लाख, दोश्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy