प्रधानमन्त्री कपको प्रत्यक्ष प्रशारण दोश्रो दिन पनि हुन सकेन, कारण यस्तो

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सुरु भएताको दोश्रो दिन भएता पनि खेलहरुको प्रत्यक्ष प्रशारण दर्शकहरुले हेर्न पाएका छैनन्।

यस अघि क्यानले प्रत्यक्ष प्रशारण गर्न कान्तिपुर टेलिभिजनसंग सम्झौता गरेको बताएको थियो। तर दोश्रो दिन चल्दै गर्दा पनि खेलहरुको प्रत्यक्ष प्रशारण भने भएको छैन। क्यानको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता प्रत्यक्ष प्रशारण नहुँदा दर्शकहरु निराश बनेका छन्।

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विकेटनेपाललाई जानकारी गराए अनुसार अब कान्तिपुरले खेलको प्रत्यक्ष प्रशारण गर्ने छैन। निर्वाचन र चाडपर्वका कारण प्रत्यक्ष प्रशारण गर्ने जनशक्ति र क्यामरा लगायत साधनहरुको कमिको कारण प्रत्यक्ष प्रशारण गर्न नसकिएको मल्लले बताएका छन्। निर्वाचनको कारण टेलिभिजनहरुलाई प्रत्यक्ष प्रशारण गर्न कठिनाइ भएको उनले बताए।

क्यानले अन्य टेलिभिजनहरुसंग प्रत्यक्ष प्रशारणको टुंगो आजै लगाउने प्रयास भइरहेको मल्लले जानकारी गराए।

“अन्य टेलिभिजनहरुसंग प्रयास भइरहेको छ जसको टुंगो हामि आज लगाउनेछौ। सकभर तेश्रो दिनबाट दर्शकहरुले टेलिभिजन र युट्युब मार्फत खेलहरु हेर्न पाउनेछन्।” उनले बताए।

दोश्रो दिन पनि खेलहरु प्रत्यक्ष प्रशारण नहुँदा दर्शकहरुले क्यानको फेसबुक पेज र सामाजिक संजालमा निराशा प्रकट गरेका छन्।

यस अघि प्रधानमन्त्री कप लगायत घरेलु प्रतियोगिताहरुले प्रत्यक्ष प्रशारण डीश मिडियाको च्यानल एक्सन स्पोर्ट्सले गर्दै आएको थियो। एक्सन स्पोर्ट्स पछिल्लो समय सक्रिय छैन र च्यानलले क्यानसंगको सम्झौता पनि नवीकरण गरेको छैन।

कार्तिक १३ गते सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता कार्तिक २६ गते सम्म चल्नेछ। प्रतियोगितामा तिन विभागीय टोलि र सात प्रदेश गरि दश टिमको सहभागिता छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy