एघार महिनामै अर्को टि-२० विश्वकप, यी हुन् खेल हुने अस्ट्रेलियाका ७ मैदान

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप सकिएलगत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले अस्ट्रेलियामा आयोजना हुने आठौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२२ को खेल मैदानहरु घोषणा गरेको छ।

एघार महिना पछि अर्थात् अक्टोबर २०२२ मा अस्ट्रेलियामा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म चल्नेछ। अस्ट्रेलियाले पहिलो पटक टि-२० विश्वकप आयोजना गर्न लागेको हो। टि-२० विश्वकपको यस अघिको ७ संस्करणको आयोजना दक्षिण अफ्रीका, इंग्ल्यान्ड,वेस्टइन्डिज,श्रीलंका,बंगलादेश, भारत र युएई/ओमानले गरेका थिए। नवौं संस्करणको टि-२० विश्वकप भने २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन सक्ने सम्भावना रहेको छ।

अस्ट्रेलियाको सातवटा शहरहरु एडीलेड, ब्रिसबेन, जीलंग, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा खेलहरु हुनेछन्। मेलबर्न क्रिकेट मैदानमा फाइनल खेलिनेछ भने सेमीफाइनलका दुई खेल सिड्नी क्रिकेट मैदान र एडीलेड ओभल मैदानमा नोभेम्बर ९ र १० तारिखमा खेलिनेछ। ब्रिसबेनको द गाबा, जीलंगको कार्डीनिया पार्क, होबार्टको बेलीरिभ ओभल र पर्थको पर्थ स्टेडियममा अन्य खेलहरु खेलिनेछन्।


२०२२ टि-२० विश्वकपको सुपर-१२ चरणमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया ८ वटा टोलिहरु स्वतः छनोट भैसकेका छन्। न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, पाकिस्तान र दक्षिण अफ्रीकाले वरियताको आधारमा सोझै सुपर-१२ मा स्थान बनाएका हुन्। नामिबिया, स्कटल्याण्ड, श्रीलंका र वेस्टइन्डिजले समुह चरण खेल्नेछन् भने समुह चरणमा खेल्ने अन्य ४ टिमको छनोट विश्वकप ग्लोबल छनोटबाट हुनेछ। आयरल्याण्ड, नेदरल्याण्ड, ओमान र पपुवा न्यु गिनीले भने ग्लोबल छनोट प्रतियोगिता खेल्नुपर्नेछ।

फेब्रुअरीमा ओमानमा तथा जुन/जुलाईमा जिम्बाब्वेमा हुने दुई वटा टि-२० विश्वकप ग्लोबल छनोटमा नेपाल सहित १६ टिम सहभागी हुनेछन्। दुई वटा ग्लोबल छनोटबाट २/२ टिम गरि ४ वटा टिम २०२२ टि-२० विश्वकपमा छनोट हुनेछन्। नेपालले वरियताको आधारमा सोझै ग्लोबल छनोटमा स्थान बनाएको हो।

नेपाल लगायत जिम्बाब्वे, सिंगापुर र युएई वरियताको आधारमा स्वतः ग्लोबल छनोट प्रतियोगिता खेल्न छनोट भएको हो। यस्तै जर्सी, फिलिपिन्स, हंगकंग, बहराईन र जर्मनी पनि क्षेत्रीय छनोट हुँदै ग्लोबल छनोट पुगीसकेका छन्। अन्य दुई टिमको टुंगो लाग्न बाँकि छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy