यु-१९ महिला विश्वकप : नेपालले सेमीफाइनल सहितको खेलहरु आयोजना गर्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले नेपाललाई सन् २०२७ को महिला यु-१९ विश्वकप बंगलादेशसंग सह-आयोजना गर्ने अवसर दिएको छ। नेपालले पहिलो पटक आईसीसीको यति ठूलो स्तरको प्रतियोगिता आयोजना मौका पाएको हो।

यु-१९ महिला विश्वकप सह-आयोजनाको अवसर पाएपछि नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विकेटनेपालसंगको कुराकानीमा खुसि व्यक्त गर्दै नेपालले एउटा सेमीफाइनल सहित खेलहरु आयोजना गर्ने जानकारी गराएका छन्।

मल्लले नेपालले प्रतियोगिताको एउटा सेमीफाइनल सहित लिग चरणको खेलहरु आयोजना गर्ने बताएका छन्। बंगलादेशले फाइनल र एउटा सेमीफाइनल सहित अन्य खेलहरु आयोजना गर्नेछ।

मल्लका अनुसार प्रतियोगिता आयोजनाको लागि नेपाल र बंगलादेशले २/२ वटा गरि ४ वटा मैदान प्रयोग गर्नेछ। तर नेपालले आईसीसी समक्ष देशभरका पाँचवटा वटा फरक मैदान प्रस्ताव गरेको छ। निकट भविष्यमा आईसीसीले नेपाल भ्रमण गर्ने जसपछि मैदान छनोट गर्ने उनले जानकारी गराए।

नेपालमा हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मात्र आईसीसी मान्यता प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय र टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलहरु आयोजना भएका छन्।

सन् २०१० मा आईसीसीको डिभिजन-५ प्रतियोगिता आयोजना गर्दा नेपालले टियु मैदान कीर्तिपुर सहित भक्तपुरको आर्मी स्कुल मैदान तथा पुल्चोक इन्जिनियरिंग कलेजको मैदान प्रयोग गरेको थियो। पुल्चोक र भक्तपुर मैदानमा क्यानले प्रतियोगिता आयोजना गर्न छाडेको लामो समय भैसकेको छ। क्यानसंग टियु मैदान बाहेक मुलपानीमा दुई वटा मैदान सक्रिय अवस्थामा छ भने दाङ र भैरहवामा पनि आयोजना गर्न सक्ने मैदान छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy