अस्ट्रेलियाका बोसिस्टोले कर्णाली याक्सबाट खेल्ने 

२०८२ कार्तिक ८, शुक्रबार १२:३७

काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीले अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोलाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अस्ट्रेलिया यु–१९ टिमका खेलाडी बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी गराए ।

बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरेको थियो ।

कर्णाली याक्स स्पोट्स प्रा. लीका निर्देशक गृहेन्द्र घिमिरेले बोसिस्टोको पहिलो संस्करणको अनुभवले दोस्रो संस्करणमा फाइदा पुग्ने बताएका छन् ।

‘पहिलो संस्करणमा सोचेको जस्तो प्रदर्शन भएपछि दुबै पक्ष दोस्रो संस्करणमा पनि निरन्तरता दिन सहमती भयो,’ निर्देशक घिमिरेले भने, ‘दोस्रो संस्करण झनै राम्रो हुने विश्वास लिएका छौं ।’

बोसिस्टो लगातार दोस्रो पटक कर्णाली याक्सबाट खेल्दैछन् । पहिलो संस्करणको उनको प्रदर्शन प्रभावशाली रहेको थियो । ३२ वर्षीय खेलाडीले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन बनाएका थिए । त्यस्तै, ९ विकेट हात पारेका हुन् ।

बासिस्टो सन् २०१२ मा भएको यु–१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए । उनी प्लेयर अफ दि टुर्नामेन्ट हुँदा ६ खेलमा २ सय ७६ रन बनाएका थिए ।

निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी पनि चाडै सार्वजनिक गरिने जानकारी गराएका छन् । यससँगै दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

 

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy