भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत पहिलो टेस्टमा घरेलु टिम ८ विकेटले विजयी भएको छ। जितसंगै चारवटा टेस्टको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ।
टेस्टको तेश्रो दिननै नतिजा आएको हो जुन क्रममा भारतले दिएको ९० रनको लक्ष्य अस्ट्रेलियाले २ विकेट गुमाएर सहजै भेटायो। ओपनर जोए बर्न्सले अविजित ५१ तथा म्याथु वेडले ३३ रन बनाउदै टिमलाई सहज जिततर्फ डोर्याए।
वेड र बर्न्सले ७० रनको ओपनिंग साझेदारी गर्दै अस्ट्रेलियालाई सहज जिततर्फ डोर्याए। वेडलाई रिद्दिमान साहाले रन आउट गरे। ६ रन बनाएका मार्नस लाबुसेनलाई आश्विनले क्याच आउट गराए। स्टिभ स्मिथले अविजित १ रन बनाए।
टेस्टमा टस जितेर ब्याटिंग रोजेको भारतले पहिलो इनिंगमा कप्तान बिराट कोहलीले ७४ रनको मद्दतले २४४ रन बनाएको थियो। रभीचन्द्रन आश्विनले ४ विकेट लिंदा अस्ट्रेलियाले पहिलो इनिंगमा १९१ रन बनाएपछि भारतले पहिलो इनिंगमा ५३ रनको अग्रता पाएको थियो। दोश्रो इनिंगमा भारतले ३६ रनमै सबै विकेट गुमाएपछि अस्ट्रेलियाले टेस्ट जित्न ९० रनको लक्ष्य पाएको थियो।
भारतलाई लज्जास्पद ३६ रनको योगफलमा समेट्ने क्रममा अस्ट्रेलियन पेसर जोश हेजलवुडले ५ विकेट ( ५-३-८-५ ) तथा प्याट कमिन्सले ४ विकेट ( १०.२-४-२१-४ ) लिएका थिए। भारतको कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बिराट कोहलीले टस जितेपछि हारेको यो पहिलो टेस्ट हो। यस अघि २५ वटा खेलमा कोहलीले टस जित्दा भारत २१ खेलमा विजयी तथा ४ खेल बराबरी भएको थियो। टेस्ट क्रिकेट इतिहासमा डे-नाइट टेस्टमा पहिलो इनिंगमा पछि परेको टिमले जितेको यो दोश्रो अवसर हो। यस अघि २०१८ मा श्रीलंकाले वेस्टइन्डिजलाई पहिलो इनिंगमा ५० रनले पछि पर्नुको बाबजुद पराजित गरेको थियो।
भारतको टेस्ट इतिहासकै कम योगफल
दोश्रो इनिंगमा भारतले बनाएको ३६ रन भारतको टेस्ट क्रिकेट इतिहासकै सबैभन्दा कम योगफल हो। यस अघि भारतले सन् १९७४ मा इंग्ल्यान्डबिरुद्ध लर्ड्समा ४२ रन मात्र बनाएको थियो। यस अघि अस्ट्रेलिया बिरुद्ध भारतको सबैभन्दा कम योगफल ५८ रन थियो जुन सन् १९४७ मा ब्रिसबेनमा बनेको थियो।
टेस्ट क्रिकेट इतिहासमा भारतले बनाएको ३६ रन इतिहासकै संयुक्त रुपमा चौथो कम योगफल हो। यस अघि सन् १९०२ मा अस्ट्रेलिया र १९३२ मा दक्षिण अफ्रीका पनि ३६ रनमा समेटिन पुगेको थियो।
टेस्ट इतिहासकै सबैभन्दा कम योगफल बनाउने टिम न्युजिल्यान्ड हो जो इंग्ल्यान्डसंग सन् १९५५ मा २६ रनमै समेटिन पुगेको थियो। दोश्रो कम रन बनाउने टिम दक्षिण अफ्रीका दुई पटक इंग्ल्यान्ड बिरुद्ध १८९६ र १९२४ मा ३० रनमा समेटिन पुगेको थियो। तेश्रो कम दक्षिण अफ्रीका सन् १८९९ मा इंग्ल्यान्डसंग ३५ रनमा समेटिन पुगेको थियो। गत वर्ष आयरल्याण्ड इंग्ल्यान्ड बिरुद्ध टेस्टमा ३८ रनमा समेटिन पुगेको थियो।
३६ रनमा भारतीय टिम समेटिने क्रममा भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मायाँक अग्रवालले ९ रन बनाउनु भारतीय ब्याट्सम्यानको उच्च स्कोर थियो। टेस्ट क्रिकेट इतिहासमा इनिंगमा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेको यो मात्र दोश्रो पटक हो। यस अघि सन् १९२४ मा दक्षिण अफ्रीका इंग्ल्यान्डसंग ३० रनमा समेटिने क्रममा पहिलो पटक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।