सन् २०११ को विश्वकपको फाइनलमा श्रीलंकालाई पराजित गर्दै भारतले २८ वर्ष पछि एकदिवसीय विश्वकप उपाधि जित्न सफल भएको थियो। भारतले आफ्नो भुमिमा श्रीलंकालाई पराजित गर्दा अन्तिम बलमा कप्तान महेन्द्र सिंह धोनीले विजयी छक्का हिर्काएका थिए।
उक्त फाइनल खेल सुरु हुनु अघि टसको क्रममा एउटा विवाद धेरै क्रिकेट प्रेमीहरुले भुलेका छैनन्। किनकि वान्खड़े मैदानमा टस दुइ पटक भएको थियो।
उक्त विश्वकपमा श्रीलंकाको कप्तान रहेका कुमार सांगाकाराले ९ वर्ष पछि टसमा घटेको घटना पुनः याद गरेका छन्। भारतीय स्पिनर रभीचन्द्रन आश्विन जो त्यति बेला भारतीय टिमको सदस्य रहेका थिए उनिसंग इन्स्टाग्राममा प्रत्यक्ष कुराकानी गर्ने क्रममा सांगाकाराले त्यस बारे बताएका हुन्।
“दर्शकको भिड ठुलो थियो। यस्तो श्रीलंकामा कहिले हुँदैन। एक पटक इडन गार्डेन्समा खेल्दा मैले पहिलो स्लिप फिल्डरसंग कुरा गर्न सक्दिनथे, पक्कै वानखेडेमा पनि।”
“मलाई याद छ मैले टस कल गरेको थिए। माहि निश्चित थिएनन् कि मैले के कल गरे। त्यसपछि माहिले ( धोनीले ) मलाई सोधेका थिए कि ‘टेल कल गरेको थियौ?’ र मैले भने ‘हैन मैले हेड कल गरेको थिए’
“म्याच रेफ्रीले मैले टस जितेको बताएका थिए तर माहिले मानेनन्। त्यहाँ भ्रमको स्थति भयो जुनबेला माहिले भने कि फेरी टस गरौँ। टसमा फेरी पनि हेडनै आयो।”
“मलाई थाहा छैन त्यो भाग्य थियो कि मैले जिते। मलाई विश्वास थियो यदी भारतले टस जितेको भए ब्याटिंग रोज्थ्यो।”
उक्त खेलमा पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको २ सय ७५ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर ४८.२ ओभरमा पुरा गरेको थियो। महेला जयवर्द्धनेले शतक प्रहार गरेता पनि हार रोक्न सकेका थिएनन्। भारतको जितमा गौतम गम्भीरले ९७ तथा धोनीले अविजित ९१ रन बनाएका थिए। उक्त हारले श्रीलंका १९९६ पछि पुनः च्याम्पियन बन्न रोकिएको थियो।
फाइनलमा म्याथुज नखेल्नुले टिमको सन्तुलन बिग्रियो
कुराकानीको क्रममा फाइनलमा श्रीलंका पराजित हुनुको पछाडी एन्जेलो म्याथुज सेमीफाइनल खेल पछि घाइते हुनु ठुलो कारण रहेको पनि बताए।
सेमीफाइनलमा न्युजिल्याण्ड बिरुद्ध रोमान्चक जितमा उत्कृस्ट योगदान गरेका म्याथुज मांसपेशीको समस्याको कारण फाइनल खेलबाट बाहिरिनु परेको थियो। उक्त खेलमा न्युजिल्यान्डले दिएको २ सय १८ रनको लक्ष श्रीलंकाले ५ विकेट गुमाएर जितेको थियो। एक समय १८५/५ को अवस्थाबाट ७ नम्बरमा ब्याटिंग गरेका म्याथुजले अविजित १४ रन बनाउने क्रममा १८ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए र छैठौं विकेटको लागि समराविरासंग ३५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
“फाइनल अगाडी हामीले टिममा परिवर्तन गर्नु परेको थियो जुन टिमको लागि ठुलो घाँटाको कुरा थियो।”
“१०० प्रतिशत, यदी म्याथुज फिट भएको भए हामि लक्ष्य पछ्याउने थियौं। म यकिनका साथ भन्न कि सक्दिन कि त्यसले नतिजामा फरक पर्थ्यो कि पर्थेन। तर म्याथुज ७ नम्बरमा आउदा त्यसले टिमको सन्तुलनमा भने बोनसको काम गर्थ्यो” पुर्व विकेट किपर ब्याट्सम्यानले बताए।
म्याथुज घाइते हुनाले आफ्नो टिम ६ ब्याट्सम्यान ५ बलर लिएर खेल्न बाध्य भएको जसकारण टस जितेर ब्याटिंग गर्नुपरेको थियो। श्रीलंकन पुर्वकप्तान सांगाकाराले बताए।