एसिया कप : एक खेलमा मात्र २० ओभर खेलेको नेपाल

२०८१ असार २०, बुधबार १५:२४

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तेस्रो पटक एसिया कपमा सहभागीता जनाउदै छ । यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागीता जनाएको थियो ।

दुई संस्करणमा गरेर नेपालले आठ खेलमा प्रतिस्पर्धा गरेको छ । आठ खेल मध्ये एक खेलमा मात्र नेपालले पूरा २० ओभर ब्याटिङ गरेको छ । नेपालले एसिया कपको पहिलो सहभागीताको पहिलो खेलमा नै पूरा २० ओभरको खेल खेलेको थियो ।

चीनमा २०१२ मा भएको एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनाएको थियो । यो खेल नेपालले २० रनले गुमाएको थियो ।

यस खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेट गुमाएर ७८ रन बनाएको थियो । ७९ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर ५८ रन मात्र बनाएको थियो । एसिया कपको दुई संस्करणको आठ खेलमा पूरा २० ओभर नेपालले खेलेको यो एक मात्र खेल रहेको थियो ।

त्यसपछि सोहि संस्करणमा बंगलादेशसँग ४५ र चीनसँग ४७ रनमा नेपाल अल आउट भएको थियो । २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा दोस्रो पटक सहभागी नेपालले खेलेको पाँचै खेलमा पूरा २० ओभर खेल्न सकेन ।

पाकिस्तानसँग ४७, श्रीलंकासँग २३, बंगलादेशसँग ४१, थाईल्यान्डसँग ६३ र भारतसँग २१ रनमा नेपाल अल आउट भएको थियो ।

नवौं संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ । यस संस्करणको प्रतियोगितामा आठ टोलीको सहभागीता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ए मा छ । यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन् । युएईसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ ।

प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन् । सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ । दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy