विश्वकपमा नेपालको ऐतिहासिक पलहरु

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ ।

जुनियर सोमपाल देखि सिनयर सोमपाल विश्वकपमा

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाली टोलीमा युवा खेलाडीको सहभागीता धेरै रहेको छ । नेपालले विश्वकपका लागि घोषणा गरेको १५ सदस्यीय टोलीमा एक मात्र पुरानो अनुहार रहेको छ । जसले २०१४ को विश्वकपमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । ती खेलाडी हुन् सोमपाल कामी ।

तीव्र गतिका बलर सोमपाल २०१४ को विश्वकप नेपालबाट खेल्ने सबैभन्दा जुनियर खेलाडी थिए । तर, अहिलेको विश्वकपमा परिस्थिती ठीक उल्टो भएको छ । सोमपाल उमेरको हिसाबमा दोस्रा सिनियर तथा खेलमा देशको प्रतिनिधित्वका हिसाबमा पहिलो सिनियर खेलाडी भएका छन् ।

नेपाली टोलीमा सोमपालको अनुभव

२०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा युएईविरुद्ध खेल्दै लिस्ट ए खेलमा नेपालका लागि डेब्यु गरेका सोमपालले हालसम्म नेपालका लागि ९८ लिस्ट ए खेल खेलिसकेका छन् ।

नेपालले नेदरल्यान्ड्सविरुद्ध खेलेको पहिलो ओडिआई टोलीमा रहेका सोमपालले हालसम्म ५४ ओडिआई खेल खेलेका छन् । सोमपालले ५४ ओडिआई खेलमा ७१ विकेट लिनुका साथै ५ सय ९६ रन समेत बनाएका छन् ।

सोमपालले २०१४ को विश्वकपमा नेपालले टी-२० आईमा खेलमा डेब्यु गर्दा टोलीको हिस्सा हुन पाएका थिए । सोमपालले हालसम्म ६५ टी-२० आई खेल खेल्दै ५८ विकेटका साथ ३ सय १५ रन बनाएका छन् ।

टी-२० विश्वकपमा सोमपालको प्रदर्शन

टी-२० विश्वकप २०१४ मा तीव्र गतिको बलिङमा एक हिस्साका रुपमा रहेका सोमपालले तीन खेलमा एक मेडन ओभर सहित ६६ रन खर्चिएर चार विकेट लिएका थिए । सोमपाल २०१४ को विश्वकपको १६ मार्च २०१४ मा भएको पहिलो खेलमा हङकङविरुद्ध तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका थिए । सो खेलमा सोमपालले कप्तान जेम्स एटिन्सन तथा नजिब अमरको विकेट लिएका थिए ।

सोमपालले १८ मार्च २०१४ मा घरेलु टोली बंगलादेशविरुद्ध दुई ओभरमा २१ रन खर्चिएर विकेट विहिन भएका थिए । सो खेल नेपालले आठ विकेटले गुमाएको थियो ।

सोमपालले २० मार्च २०१४ मा विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध चार ओभरमा एक मेडन राख्दै ३२ रन खर्चिएर दुई विकेट लिएका थिए । अफगानिस्तानका ओपनर करिम सदिक र अस्गर अफगान सोमपालका सिकार भएका थिए । र, यो खेल नेपालले नौ रनले जितेको थियो ।

नेपाली क्रिकेटको ऐतिहासिक अवसरका हिस्सा रहेका सोमपालले नेपालको लागि दुई विश्वकपमा सहभागी रहने खेलाडीको रुपमा आफुलाई दर्ज गर्दै छन् ।

वाइड र नो-बल बिनाको त्यो विश्वकप

विश्वकप वा कुनै प्रतियोगिताहरुमा बलिङ राम्रो हुने टिमलाई राम्रो टिमको रुपमा गनिन्छ । दश वर्ष अघि विश्वकप खेल्दा बलियो बलिङका साथ उत्रिएको भएर नेपालले दोस्रो चरणको सम्भावना बलियो बनाएको थियो । त्यस विश्वकपमा नेपालले उत्कृष्ट बलिङ प्रस्तुत गर्दै प्रतियोगितामा खेलेको तीन खेलमा जम्मा आठ रन अतिरिक्तमा खर्चिएको थियो । आठ अतिरक्ति रन खर्चदा कुनै वाइड वा नो-बल गरेको थिएन ।

१६ मार्च २०१४ मा हङकङसँग खेल्दै नेपालले विश्वकपमा डेब्यु गरेको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । नेपालले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हङकङले १७ ओभरमा अल आउट हुदै ६९ रन मात्र बनाउन सक्यो । खेल नेपालले ८० रनले जितेको थियो । यस खेलमा नेपालले १ रन अतिरिक्तको रुपमा खर्चिएको थियो । सो १ रन लेग बाईको रुपमा हङकङलाई मिलेको थियो ।

१८ मार्च २०१४ मा नेपालले विश्वकपको दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग खेलेको थियो । यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य बंगलादेशले १५ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । यस खेल नेपालले ८ विकेटले गुमाएको थियो । यस खेलमा नेपालले २ अतिरिक्त रन खर्चिएको थियो । अतिरिक्त २ रन लेग बाईका रुपमा बंगलादेशलाई मिलेको थियो ।

विश्वकपको तेस्रो तथा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेलेको थियो । अघि दुई खेलमा झै यस खेलमा पनि नेपालले टस हारेर ब्याटिङ गरेकोमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउँन सक्यो । नेपाल ९ रनले विजयी भएको यस खेलमा अफगानिस्तानले ५ रन अतिरिक्तका रुपमा पाएको थियो । उक्त पाँचै रन लेग बाईको रुपमा अफगानिस्तानले पाएको थियो ।

यस विश्वकपमा नेपालले आठ रन अतिरिक्त चार बाई तथा चार रन लेग बाईको रुपमा दिएको थियो । यस विश्वकपमा नेपालले बाईड र नो-बलमा अतिरिक्त रन खर्चिएको थिएन । दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ ।

डेब्यु बलमा आएको त्यो विकेट

२०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो डेब्यु खेल खेल्दै थियो । विपक्षीमा थियो हङकङ ।

हङकङ त्यै टोली थियो जसलाई चार महिना अघि युएईमा भएको विश्वकप छनोटको क्वार्टरफाइनलमा पराजित गर्दै नेपालले विश्वकपको ढोका खोलेको थियो ।

नेपालको विश्वकप डेब्यु खेल हेर्न सबै नेपाल तयार थियो । बंगलादेशको चिटगाउँमा हङकङले नेपालविरुद्ध टस जितेर बलिङको निर्णय लियो । नेपालले ब्याटिङमा मध्यम सुरुआत गर्यो । पहिलो विकेटका लागि ओपनरद्वय सागर पुन र सुवास खकुरेलले ४।४ ओभरमा ३६ रनको ओपनिङ साझेदारी गरे ।

३६ रनमा पहिलो विकेट गुमाएको नेपालले ३ बल पछि कुनै रन नथप्दै अर्का ओपनर खकुरेललाई गुमायो । पुन आउट भएपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल र खकुरेल आउट भएसँगै क्रिजमा आएका कप्तान पारस खड्काले तेस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए ।

त्यसपछिका ब्याटरले खास योगदान दिन नसक्दा नेपालले १ सय ४९ को मात्र योगफल तयार गर्न सक्यो । नेपालको ब्याटिङमा अवरोध खडा गर्ने क्रममा हसिब अमजादले तीन तथा नदिम अहमदले दुई विकेट लिए ।

१ सय ५० रनको लक्ष्यका साथ हङकङ जवाफी ब्याटिङ उत्रियो । नेपालका लागि कप्तान पारस खड्का पहिलो ओभरको बलिङ गर्न मैदानमा उत्रिए । लक्ष्य खास ठूलो नरहेकाले पहिलो बलबाट नै विपक्षीलाई दवावमा ल्याउनुपर्ने थियो ।

ओपनरका रुपमा क्रिजमा वाकस बर्कात र इर्फान अहमद रहेका थिए । पहिलो बलको सामनाका लागि अहमद तयार थिए । पहिलो बलबाट नै हङकङलाई दवावमा ल्याउन तयार नेपाली टोलीका कप्तान खड्काको बलमा अहमद विकेटकिपरको हातबाट क्याच हुन पुगे । यससँगै नेपालले विश्वकपको ईतिहासमा डेब्यु बलमा विकेट लिन सफल भएको थियो ।

नेपालले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य हङकङका लागि विशाल भइदिँदा १७ ओभरमा ६९ रन जोड्दै अल आउट भयो । र सो खेल नेपालले ८० रनले जितेको थियो । नेपालका लागि बसन्त रेग्मी र शक्ति गौचनले समान तीन तीन तथा सोमपाल कामीले दुई विकेट हात पारेका थिए ।

नेपालले विश्वकपको डेब्यु बलमा विकेट लिएर जितलाई सहज बनाएको थियो । दोस्रो पटक नेपालले दश बर्ष पछि आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकप खेल्दै छ ।

विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]