काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इन्डियन्समाथि जित निकाल्दै कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
वर्षाले प्रभावित खेलमा घरेलु मैदान इडन ग्राडेनमा कोलकत्ताले मुम्बईविरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।
वर्षाका कारण ढिलो सुरुआत भइएकोले खेल १६ ओभरमा घटाइएको थियो ।
कोलकाताले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित १६ ओभरमा ८ विकेटको गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।
मुम्बईका ओपनर इशन किसनले २२ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । तिलक वर्माले १७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । रोहित शर्माले १९ तथा नमन धिरले १७ रन जोडे ।
कोलकत्ताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो ।
कोलकाताका लागि वेंकटेश अय्यरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ तथा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।
मुम्बईका लागि जसप्रित बुम्राह र पियुस चावलाले समान २/२ विकेट लिए ।
जित पछि शीर्ष स्थानमा रहेको कोलकत्ताको १२ खेलमा १८ अंक रहेको छ । यस संस्करणको आइपीएलमा प्लेअफमा स्थान बनाउँने कोलकाता पहिलो टोली बनेको छ ।
यस अघि नै यस संस्करणको प्रतियोगिताबाट बाहिरिसकेको मुम्बईको भने १३ खेलबाट खेल्दै ८ अंकका साथ नवौं स्थानमा छ ।