क्यानडामाथि पाकिस्तानको जित, पाकिस्तानको सुपर एटको सम्भावना कायमै

२०८१ जेष्ठ २९, मंगलवार २३:३२

काठमाडौं । पाकिस्तानले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा क्यानडामाथि जित हात पारेको छ ।

आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पाकिस्तानले अमेरिकाको न्युयोर्कमा सम्पन्न खेलमा क्यानडामाथि ७ विकेटको जित हात पारेको हो ।

क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ५३ बलमा २ चौका र १ छक्काको ५३ सहयोगमा रनको अर्धशतकीय ईनिङ खेले । कप्तान बाबर अजामले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाए ।

दोस्रो विकेटका लागि कप्तान अजाम र रिजवानले ६२ बलमा ६३ रनको महत्वपुर्ण साझेदारी गरे ।

क्यानडाका लागि डेलिन हेलिङ्गरले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर ओरोन जोनसनको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

क्यानडाका लागि ओपनर जोनसनले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । कलिम सानाले १४ बलमा १३ तथा कप्तान साद विन जाफरले २१ बलमा १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले समान दुई दुई तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान एक एक विकेट लिए ।

जितसँगै पाकिस्तान तीन खेलमा दुई अंकका साथ समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । यो जितसँगै सुपर एटमा पुग्ने पाकिस्तानको सम्भावना कायमै रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy