अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

२०८१ जेष्ठ २२, मंगलवार ०७:५८

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपको पाँचौ खेलमा अफगानिस्तानले युगान्डालाई जितका लागि १ सय ८४ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको गुयनामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

अफगानिस्तानका लागि ओपनरद्वय रहमानउल्लाह गुर्वाज र इब्राहिम जाद्रनले अर्धशतकीय ईनिङ खेले । गुर्वाजले ४५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ७६ तथा जाद्रनले ७६ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७० रन बनाए । पहिलो विकेटका लागि जाद्रन र गुर्वाजले ८७ बलमा १ सय ५४ रनको साझेदारी गरे ।

ओपनरले राम्रो सुरुआत दिलाए पनि मध्येक्रमका ब्याटरले खास प्रदर्शन गर्न असक्षम रहँदा अफगानिस्तानले विशाल लक्ष्य खडा गर्न सकेन ।

युगान्डाका लागि कप्तान ब्रायन मसाबा र कोस्मास काईवाताले समान दुई दुई तथा अल्पस रामजानेले १ विकेट लिए ।

अफगानिस्तानको टी-२० विश्वकपमा यो लगातार सातौं सहभागीता हो । सन् २००७ मा भएको पहिलो तथा २००९ मा आयोजना भएको दोस्रो संस्करण बाहेक अफगानिस्तानले हरेक संस्करणमा सहभागीता जनाएको छ । यस पटक वरियतामा अघि रहेरका कारण अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।

युगान्डाले भने पहिलो पटक विश्वकपमा सहभागीता जनाउँदै छ । युगान्डा अफ्रिका महादेश छनोटबाट छानिएर विश्वकपमा आएको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy