काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो ।
सुदूरका लागि कप्तान बिन्दु रावलले २८ बलमा ३ चौकाको सहयोगमा ३० रन बनाईन् । कविता जोशीले २० बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाईन् । सावित्री धामीले २० बलमा २ चौकाको सहयोगमा १७ रन बनाईन् ।
ललितपुर एघारका लागि आरती महतो र कृतिका मरासिनीले समान २/२ तथा तिर्सना बुढाथोकी र पूजा महतोले समान १/१ विकेट लिए ।
सुदूर प्रतियोगिताको पहिलो खेल जितका साथ सुरुआतको लक्ष्यमा रहँदा ललितपुरले भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । ललितपुरले शनिबार भएको उद्घाटन खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।
प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका शीर्ष चार टोली र आयोजक ललितपुर एघारको सहभागीता रहेको छ ।