मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

२०८१ बैशाख ३०, आईतवार २१:४३

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सैनिकले डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा १० विकेट जित निकाल्यो ।

वर्षाका कारण दोस्रो इनिङ ९ ओभरमा छोट्याईएको थियो ।

ओभर छोट्याएसँगै पाएको ७० रनको लक्ष्य सैनिकले ६ दशमलब ५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

सैनिकका लागि रमन गिरीले अविजित ३५ र रोजल खड्काले अविजित ३३ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको गरेको मोक्षदाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो ।

मोक्षदाका लागि सम्यम नेपालले ३७ र नितिश बुढाथोकीले २४ रन बनाए ।

सैनिकका लागि लबकुमार ठाकुर, शुभ विष्ट र प्रत्युश आचार्यले समान एक एक विकेट लिए ।

उपाधिसँगै सैनिकले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता मोक्षदाले ७५ हजार रुपैयाँ पायो ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनमा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy