२०२४ टि-२० विश्वकप अमेरिकाले आयोजना गर्ने, पाकिस्तानमा च्याम्पियन्स ट्रफी हुने

२०७८ कार्तिक ३०, मंगलवार १९:३४

सन् २०२४ को पुरुष टि-ट्वान्टी विश्वकप अमेरिकाले वेस्टइन्डिजसंगै सह-आयोजना गर्ने भएको छ। वेस्टइन्डिजले अन्तिम पटक २०१० टि-२० विश्वकप आयोजना गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले बिहिबार सन् २०२४ देखि २०३१ सम्मको आईसीसीको सिमित ओभरको पुरुष प्रतियोगिताहरुको आयोजक राष्ट्र घोषणा गरेको छ।

पाकिस्तानले करिब ३ दशकमा पहिलो पटक विश्वस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। २०२५ फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन्स ट्रफी आयोजना हुनेछ। सन् १९९६ को विश्वकप श्रीलंकासंगै आयोजना गरेको पाकिस्तानले त्यसपछि पहिलो पटक ग्लोबल क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो।

सन् २०२६ मा भारत र श्रीलंकाले पुरुष टि-२० विश्वकप आयोजना गर्ने भएको छ। सन् २०२७ मा नामिबियाले एकदिवसीय विश्वकपको आयोजना गर्नेछ। नामिबियासंगै जिम्बाब्वे र दक्षिण अफ्रीकामा उक्त विश्वकप खेलिनेछ। सन् २०२८ अक्टोबरमा अस्ट्रेलिया र न्युजिल्यान्डले टि-२० विश्वकप आयोजना गर्नेछ। २०२९ को च्याम्पियन्स ट्रफी भारतले आयोजना गर्नेछ।

सन् २०३० मा इंग्ल्यान्डले आयरल्याण्ड र स्कटल्याण्डसंग मिलेर टि-२० विश्वकप आयोजना गर्नेछ। सन् १९९९ पछि आयरल्याण्ड र स्कटल्याण्डले पहिलो पटक ग्लोबल इभेन्ट आयोजना गर्नेछ।

सन् २०३२ को अक्टोबर/नोभेम्बरमा भारत र बंगलादेशमा एकदिवसीय विश्वकप आयोजना हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy