काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ ।
१० टोली सहभागी लिगमा कोलकाता नाइटराइडर्सले समूह चरणमा शीर्ष स्थानमा रहेर प्लेअफ यात्रा गर्दा सनराइजर्स हैदराबाद दोस्रो स्थानमा रह्यो । राजस्थान रोयल्स तेस्रो स्थानमा रहँदा पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरुले लिग चरण चौथो स्थानमा रहेर पूरा गर्यो ।
फाइनलसम्म पुग्नका लागि चार टोलीले आफ्नो आफ्नो स्पष्ट बाटो पाइसकेका छन् । प्लेअफका खेलहरु अअहमदाबाद र चेन्नईमा हुँदा फाइनल खेल समेत चेन्नईमा हुनेछ ।
पहिलो क्वालिफायर
प्लेअफ चरणको पहिलो खेल पहिलो क्वालिफायरबाट सुरु हुनेछ । पहिलो क्वालिफायर मंगलबार बेलुका पौने ८ मा अहमदाबादमा हुनेछ । पहिलो क्वालिफायरमा समूह चरणको शीर्ष स्थानमा रहेको कोलकाता र दोस्रो स्थानमा रहेको हैदराबादबीच खेल हुनेछ । पहिलो क्वालिफायरको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो मौका पाउँने छ ।
पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउँनेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ ।
इलिमिनेटर
प्लेअफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ । इलिमिनेटर खेलमा आइपीएलको समूह चरणको खेलमा तेस्रो स्थानमा रहेको राजस्थान र चौथो स्थानमा रहेको बेंगलुरुबीच खेल हुनेछ । इलिमिनेटर खेल बुधबार अहमदाबादमा हुनेछ ।
इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
दोस्रो क्वालिफायर
प्लेअफ चरणको तेस्रो तथा अन्तिम खेलका रुपमा दोस्रो क्वालिफायर रहने छ । दोस्रो क्वालिफायर २४ मे मा चेन्नईमा हुनेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटर खेलको विजेता टोलीबीच हुनेछ ।
दोस्रो क्वालिफायरको विजेता टोलीले पहिलो क्वालिफायरको विजेता टोलीसँग २६ मे मा हुने फाइनल खेलका लागि आफुलाई सुरक्षित राख्ने छ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।
फाइनल
पहिलो र दोस्रो क्वालिफायरका विजेता टोलीबीच च्याम्पियन बन्न फाइनलमा भिडन्त हुनेछ । फाइनल खेल २६ मे मा चेन्नईमा आयोजना हुँदै छ ।