लगातार तेश्रो हार पछि लुम्बिनी बाहिरियो, सुदूरपश्चिम र गण्डकी विजयी 

बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गर्यो।

दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो। स्कोरकार्ड हेर्नुस 

बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा २ विकेट गुमाएर भेटायो।

सुदूरपश्चिमको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित सावित्री धामीले सर्वाधिक ४७ रन योगदान दिईन्। अविजित रहँदै धामीले ४२ बलमा ५ चौका प्रहार गरिन्। स्नेहा महराले अविजित २४ रन बनाईन्। तेश्रो विकेटको लागि सावित्री र स्नेहाले अविजित ५६ रनको साझेदारी गरे।

बागमतीको बलिंगमा एक मात्र विकेट मनिषा उपाध्यायले लिईन्।

टस जितेर ब्याटिंग गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो।

बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक २९ रन योगदान दिईन्। क्रिश्मा गुरुङले १२ तथा साबिका यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमको बलिंगमा अनु कडायत र क्रिश्मा गुरुङले १/१ विकेट लिए। सुदूरपश्चिमले ५ विकेट रन आउट मार्फत पायो।

दिनको दोश्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गर्यो। स्कोरकार्ड हेर्नुस 

गण्डकीले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.५ ओभरमा ६२ रनमा सबै विकेट गुमायो।

लुम्बिनीको ब्याटिंगमा आशमा पुलामी मगरले सर्वाधिक २८ रन योगदान दिनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गण्डकी प्रदेशको बलिंगमा सिमाना केसी एक्लैले ६ विकेट हात पारिन्। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा मात्र १४ रन खर्चिन्। रचना चौधरीले २ तथा आकृति तिवारी र निरुता जीटिले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो।

गण्डकीको लागि सिमाना केसीले सर्वाधिक ४३ रन बनाईन्। अविजित रहँदै केसीले ४६ बलमा ४ चौका प्रहार गरिन्। सरिना थापाले १६ तथा सलिना सेनले १० रन योगदान दिईन्। लुम्बिनीको बलिंगमा सरु तिवारीले १ विकेट लिंदा बाँकि ३ विकेट रन आउट मार्फत पायो।

आज जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको गण्डकी प्रदेश दोश्रो स्थानमा छ। समान अंक सहित २ खेलमा जित दर्ता गरेको कोहलपुर मेयर-११ शिर्ष स्थानमा छ। २ खेलमा समान १ जित र १ हार बेहोरेको बागमती र सुदूरपश्चिम प्रदेश नेट रन रेटको आधारमा तेश्रो र चौंथो स्थानमा छ। तिन वटै खेलमा पराजित भएको लुम्बिनी एक खेल अगावै प्रतियोगिताको फाइनल दौड बाट बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत चौंथो दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल विहान ९:३० बजे बागमती प्रदेश र गण्डकी प्रदेश बीच हुनेछ। दोश्रो खेल दिउँसो १:३० बजे कोहलपुर मेयर-११ र सुदूरपश्चिम प्रदेश बीच हुनेछ।

प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक-अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy