२६ रनमै समेटियो चिन

  • विकेटनेपाल, असोज २४

मलेसियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पाँचौं खेलमा चिनसंग खेल्दैछ। पुरुष क्रिकेट इतिहासमानै पहिलो पटक नेपालको सामना गरेको चिनले नेपाललाई २७ रनको विजय लक्ष्य दिएको छ।

मलेसियाको बयुमास ओभल मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको चिनले १३ ओभरमा सबै विकेट गुमाएर २६ रन मात्र जोड्न सक्यो। नेपाली स्पिनरहरुको कसिलो बलिंगको अगाडी चिनियाँ ब्याट्सम्यानहरुको सिप चल्न सकेन।

चिनले यस अघिको खेलहरुमा म्यानमारसंग ४८, भुटानसंग ४५, सिंगापुरसंग २६, थाईल्याण्डसंग ३५ रन बनाएको थियो।

चिनका लागि ओपनर ब्याट्सम्यान होंग जियांग यनले सर्वाधिक ११ रनको योगदान गरे। बसन्त रेग्मीको बलमा कप्तान ज्ञानेन्द्र मल्लको हातबाट समातिन अघि यनले २७ बलको सामना गर्दै १ चौका सहित ११ रन जोडे। यन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

चिनको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा ३ नेपाली स्पिनरहरु सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। आफ्नो ४ ओभरको कोटामा सन्दिपले १ मेडन सहित ४ रन खर्चिएर ३ विकेट हात पारे। यस्तै ललित राजबंशीले ३ ओभरमा १ मेडन सहित १२ रन तथा बसन्त रेग्मीले ४ ओभरमा १ मेडन सहित ५ रन खर्चिए।

प्रतियोगितामा बलियो बलिंग रहेको नेपालले यसअघिका खेलहरुमा म्यान्मारलाई २९ रन, मलेसियालाई १०० रन, थाइल्याण्डलाई १८ रन तथा भुटानलाई ३३ रनमा रोकेको थियो।

उता प्रतियोगितामा सबैभन्दा कमजोर सबित बनेको टोलि चिनले ४ खेल खेल्दा ४ वटै खेलमा हारको सामना गरेको छ। अंकबिहिन चिन अंकतालिकामा सबैभन्दा पुछारमा रहेको छ। चिनलाई थाइल्याण्डले १० विकेटले, भुटानले ९ विकेटले, सिंगापुरले १० विकेटले तथा म्यान्मारले ८ विकेटले पराजित गरेको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy