४ बलमा ४ विकेट लिंदै मलिंगाले बनाए ठुलो किर्तिमान

न्युजिल्याण्ड र श्रीलंका बीच जारि तेश्रो टि-२० अन्तर्राष्ट्रियमा लासिथ मालिंगाले सनसनीपूर्ण बलिंग गरेका छन्।

पालेकेले मैदानमा पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा मलिंगाले ४ बलमा लगातार ४ वटै विकेट लिंदै इतिहास रचेका हुन्।

तेश्रो ओभर बलिंग गर्ने क्रममा ओभरको तेश्रो बलमा कोलिन मुनरोलाई बोल्ड गरेका मलिंगाले त्यस पछि चौथो बलमा हामिश रुथरफोर्डलाई एलबिडब्लु धरापमा पारे। त्यसपछि पाँचौ बलमा कोलिन डी ग्रयाण्ड होमलाई बोल्ड गर्दै ह्याट्रिक लिएका मलिंगा त्यतिमै रोकिएनन् छैठौं बलमा रोस टेलरलाई एलबुडब्लु गर्दै लगातार ४ विकेट लिए।

लगातार ४ बलमा ४ विकेट लिएको मलिंगाले दोश्रो पटक हो। मालिंगा बाहेक अन्तर्राष्ट्रिय क्रिकेटमा रासिद खानले मात्रै ४ बलमा ४ विकेट लिन सकेका छन्। रासिदले आयरल्याण्ड बिरुद्ध यसै वर्ष फेब्रुवरिमा ४ बलमा ४ विकेट लिंदै उक्त किर्तिमान बनाउने पहिलो खेलाडी बनेका थिए। मालिंगाले यस अघि २००७ एकदिवसीय विश्वकपमा दक्षिण अफ्रीका बिरुद्ध ४ बलमा ४ विकेट लिएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा मलिंगाले लिएको यो पाँचौ ह्याट्रिक हो। टि-२० अन्तर्राष्ट्रियमा यो उनको दोश्रो ह्याट्रिक हो भने एकदिवसीय अन्तर्राष्ट्रियमा उनले तिन वटा ह्याट्रिक लिएका छन्। ५ वटा ह्याट्रिक लिने मालिंगा एक मात्र क्रिकेटर हुन्।

कप्तानको रुपमा टि-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिने मालिंगा मात्र तेश्रो क्रिकेटर हुन्। यस अघि शाकिब अल हसनले २०१८ र जर्सीका चार्ल्स पर्चार्डले यसै वर्ष कप्तानको रुपमा ५ विकेट लिएका थिए।

यस्तै खेलमा मलिंगाले टि-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिने पहिलो बलरको किर्तिमान समेत बनाएका छन्। ५ विकेट संगै मलिंगाको १०४ विकेट पुगेको छ। मलिंगा पछि टि-२० अन्तर्राष्ट्रियमा धेरै विकेट शाहिद अफ्रिदीको ९८ विकेट रहेको छ। शाकिब अल हसनको ८८, उमर गुल र सइद अज्मलको समान ८५ विकेट रहेको छ। रासिद खानको ७५ विकेट रहेको छ।

टि-२० , एकदिवसीय र टेस्ट क्रिकेट गरि क्रिकेटको ३ वटै फर्म्याटमा १०० विकेट पुरा गर्ने मालिंगा पहिलो क्रिकेटर हुन्।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy