सुनसरीको इनरुवा र इलामको माई नगरपालिकाले दोस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा शुक्रवार सम्पन्न पहिलो खेलमा इनरुवाले मोरङको बेलबारी नगरपालिका माथि ७३ रनको फराकिलो जीत निकाल्दै विजयी सुरुवात गरेको हो ।
इनरुवाले प्रस्तुत गरेको १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको बेलबारी ७७ रनमा अलआउट भयो । बेलबारीका लागि निमेष चापागाईँले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले ३ छक्का र २ चौकाको मतमा ३१ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । इनरुवाका अभय मण्डलले ४ विकेट लिँदा मनिष मण्डल र सोनु मण्डलले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रनको योगफल खडा गरेको थियो । इनरुवाको लागि सागर मोचीले अर्धसतकीय इनिङ खेले । ५० बलको सामना उरेका उनले ७ चौकाको मदतमा ५२ रन बनाए । सोनु मण्डलले ३६, प्रितम पोद्धार र आशिष मण्डलले समान १८–१८ रन बनाए । बेलबारीका प्रमित भगत र निमेष चापागाईँले २–२ विकेट लिए । खेलको म्यानअफद म्याच ४ विकेट लिएका इनरुवाका अभय मण्डल प्लेयर अफद म्याच घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए । शुक्रबारनै सम्पन्न दोस्रो खेलमा इलामको माई नगरपालिकाले उदयपुरको त्रियुगा नगरपालिकालाई ३७ रनले पराजित गरेको छ ।
इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा झापा, मोरङ, सुनसरी उदयपुर र धनकुटा जिल्लाका १८ वटा पालिकाको टिमहरूले सहभागिता जनाएका छन् । चैत ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र टफी पाउनेछ । उपविजेता टिमले नगद ५० हजार पाउने आयोजक सेभेनस्टार क्लबले जनाएको छ । प्रतियोगिताकोको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार प्रदान गरिने र उत्कृष्ट ब्याटर र बलरलाई जनही चार चार हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक सिपी पौडेलले बताए ।