समुह चरण अन्तर्गत सबै ४ खेलमा जित दर्ता गर्दै पृथु बास्कोटा कप्तानीको नेपाली राइनोज अल स्टार्स अमेरिकाको लस एन्जल्समा जारि एलए ओपन च्याम्पियनसिप २०२१ को समुह ‘सी’ को विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।
अपराजित यात्रा कायम राख्ने क्रममा राइनोजले अरिजोना सन्स क्लबलाई १० विकेटले पराजित गर्यो। मात्र ४८ रनको लक्ष्य पाएको राइनोजले ३.४ ओभरमै लक्ष्य पुरा गर्यो। ओपनर समित पटेलले अविजित ३५ तथा रभी इन्द्र सिंहले अविजित १० रन बनाउदै टिमलाई सहज जित दिलाए। पटेलले १४ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
यस अघि टस हारेर ब्याटिंग रोजेको अरिजोना सन्सले १२.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन मात्र बनाउन सकेको थियो।
अरिजोनालाई झिनो योगफलमा समेट्न नेपाली राइनोजका देब्रे हाते स्पिनरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा आईपीएल अनुभव बोकेका बलरले २ ओभर बलिंग गर्दै १ मेडन ओभर गर्दै मात्र २ रन खर्चिए। यस्तै जोश दासकोम्बे र तिमिल पटेलले समान २ विकेट तथा अब्दुल्लाह घाजी र रोहन पोसनीपल्लीले समान १ विकेट लिए।
खेलमा बसन्त रेग्मीलाई आराम दिईएको थियो। उनले आजै हुने क्वार्टरफाइनल भने खेल्नेछन्।
समुह ‘सी’ को विजेता हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको नेपाली राइनोजले आजै क्वार्टरफाइनल खेल्नेछ। क्वार्टरफाइनलमा भेट हुने टिम आज समुह चरणको खेलहरु सकिएपछि थाहा हुनेछ। ४ वटा समुहबाट क्वार्टरफाइनल पुग्ने ८ वटा टिम मध्ये सर्वाधिक अंक, नेट रन रेटको आधारमा क्वार्टरफाइनलमा भेट हुने टोलि निर्धारण हुनेछ। ८ टिम मध्ये पहिलो स्थानमा हुने टिमले आठौँ स्थानको टिमसंग प्रतिस्पर्धा गर्नेछ।
यस अघि समुह चरणको पहिलो खेलमा नेपाली राइनोज अलस्टार्सले मास्टर ब्लास्टर्सलाई ६७ रनले , दोश्रो खेलमा ‘आरडीयु साम्प आर्मी’लाई ४६ रनले तथा तेश्रो खेलमा पीभी हरिकेन्सलाई ४८ रनले पराजित गरेको थियो।
कुल २० टोलि सहभागी प्रतियोगिताको विजेताले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।
अमेरिकामा क्रिकेट गतिविधिमा संलग्न हुने तथा नेपाली युवा क्रिकेटहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अमेरिकामा बसोबास गरिरहेका राष्ट्रिय क्रिकेटरहरु सहितको समुहले ‘नेपाली राइनोज अल-स्टार्स’ क्लबको स्थापना गरेका हुन्। क्लबमा पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं कप्तान रहेका छन् भने टिम व्यवस्थापकमा अर्का पूर्व राष्ट्रिय क्रिकेटर बरदान चालिसे, आशिक लामा र सन्जय शर्मा रहेका छन्। अर्का पूर्व राष्ट्रिय क्रिकेटर बन्टु बटाजु र अनुनय बस्न्यात व्यवस्थापन निर्देशकको भूमिकामा रहेका छन्।