भारत बिरुद्ध पाकिस्तानको जितमा बनेका ५ ठूला रेकर्ड

२०७८ कार्तिक ८, सोमबार ०१:२८

विश्वकप जित्न दावेदार तथा बलियो टिम मानिएको भारतलाई १० विकेटले सहजै पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकप २०२१ को शानदार सुरुवात गरेको छ। युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेटनै नगुमाई १३ बल बाँकि रहँदै भेटायो। पाकिस्तानले जित दर्ता गर्दा बिभिन्न ५ ठूला रेकर्डहरु समेत बनाएको छ जुन निम्नछन् –

१. भारत बिरुद्ध आईसीसी विश्वकप इतिहासमै यो पाकिस्तानको पहिलो जित हो। यस अघि टि-ट्वान्टी विश्वकपमा ५ पटक तथा एकदिवसीय विश्वकपमा ७ पटक भारतले पाकिस्तानलाई पराजित गरेको थियो।

२. पाकिस्तानको १० विकेटको जित टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमै भारत बिरुद्ध कुनै पनि टिमको सबैभन्दा ठूलो विकेट अन्तरको जित हो। १० विकेटको अन्तरले भारतलाई पराजित गर्ने पाकिस्ताननै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा विश्वकै पहिलो टिम बनेको छ।

३. पाकिस्तानले लक्ष्य पछ्याउदै विकेट नगुमाई बनाएको १५२ रन टि-ट्वान्टी विश्वकप इतिहासमै कुनै पनि टिमले विकेट नगुमाई पछ्याएको सर्वाधिक योगफल हो। जारी विश्वकपको समुह चरणको खेलमा आयोजक ओमानले पपुवा न्यु गिनीलाई १० विकेटले पराजित गर्दा लक्ष्य पछ्याउदै १३० रन बनाएको थियो जुन रेकर्ड पाकिस्तानले केहि दिनको अन्तरमै तोडेको हो।

४. भारत बिरुद्धको १० विकेटको जित पाकिस्तानको टि-ट्वान्टी अन्तर्राष्ट्रियमै विकेटको आधारमा सबैभन्दा ठूलो जित हो। यस अघि पाकिस्तानले १० विकेटले टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल जित्न सकेको थिएन।

५. बाबर आजम र मोहम्मद रिजवानले गरेको अविजित १५२ रनको साझेदारी भारत बिरुद्ध कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी हो। यस अघि यो रेकर्ड शेन वाटसन र डेभिड वार्नरको नाममा थियो जसले पहिलो विकेटको लागिनै सन् २०१२ मा भारत बिरुद्ध १३३ रनको साझेदारी गरेका थिए। ९ वर्ष पछि उक्त कीर्तिमान आजम र रिजवानले उक्त साझेदारीको रेकर्ड तोडेका हुन्। यस्तै यो साझेदारी पाकिस्तानको टि-ट्वान्टी अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि दोश्रो ठूलो साझेदारी हो। सर्वाधिक साझेदारीको रेकर्ड पनि आजम र रिजवानकै नाममा छ जसले यसै वर्ष अप्रिलमा दक्षिण अफ्रीका बिरुद्ध १९७ रनको ओपनिंग साझेदारी गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy