आईसीसी विश्वकप लिग -२ अन्तर्गत नेपालले आफ्नो चौथौं जित निकाल्ने क्रममा घरेलु टोलि ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमान बिरुद्ध नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै यो पहिलो जित हो। अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा १२१ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमै ३ विकेट गुमाएर भेटायो । नेपालको घातक बलिंगसामु ओमानको ब्याटिंग क्रम धराशायी बनेको थियो। नेपाललाई शानदार जित दिलाउन महत्वपूर्ण योगदान दिएका५ खेलाडीहरु यस प्रकार छन् :-
५. आसिफ शेख : ओमानले दिएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल आउट भएपछि नेपालले लगातार विकेट गुमाउने हो कि भन्ने डर थियो। तर आसिफ शेखले त्यसपछि ज्ञानेन्द्र मल्लसंग कीर्तिमानी ९५ रनको साझेदारी गर्दै नेपाललाई सहज जिततर्फ डोर्याए। आक्रामक ब्याटिंग गरेका आसिफले ४४ बलमा ७ चौका मद्दतले ४० रन बनाए र ओमान बलरलाई सुरुवात देखी दबाब बनाए।
४. शरद भेसावकर : भेट्रान अलराउण्डर शरद भेसावकरले आज ओमान भ्रमणको अन्तिम खेलमा कुशल मल्लको स्थानमा पहिलो पटक मौका पाएका थिए। पहिले ब्याटिंग गर्ने क्रममा सुरुवाती ६ विकेट छिट्टै गुमेपछि ओमान कप्तान जिशान मक्सुद र सन्दिप गौडले २१ रनको साझेदारी गर्दै विकेटमा जम्ने प्रयास गरेका थिए। त्यति बेला अफ स्पिनर भेसावकरले गौडलाई क्याच आउट गर्दै नेपाललाई पुनः खेलमा हावी गराए। त्यसपछि पनि शरद रोकिएनन्। मक्सुदले नसिम खुसिसंग पुनः २२ रनको साझेदारी गरे। उक्त साझेदारी पनि शरदले खुसिलाई क्याच आउट गर्दै नेपाललाई आठौँ विकेट दिलाए। २ वटा साझेदारी तोडेका शरदले ६ ओभरमा १ मेडन राख्दै मात्र २१ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिए।
३. ज्ञानेन्द्र मल्ल : नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लको योगदान अहम् रह्यो। लक्ष्य पछ्याउने क्रममा उनले चौथों व्यक्तिगत अर्धशतक बनाउने क्रममा नेपालको इनिंग्समा सर्वाधिक अविजित ५२ रन बनाए । आक्रामक सटहरु खेलेका उनले ४६ बलको सामना गर्दा ४ चौका र २ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका उनले अर्का ओपनर आशिफ शेखसँग दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै जुन कुनै पनि विकेटको लागि नेपालको सर्वाधिक साझेदारी हो।
२. सन्दिप लामिछाने : लेग-स्पिनर सन्दिप लामिछानेले ओमान बिरुद्ध जितमा उत्कृष्ट बलिंग प्रदर्शन गरे । ओमानको मिडल अर्डर धराशायी पार्न उनको भूमिका अहम् रह्यो । सन्दिपले ८.१ ओभर गर्दा २ ओभर मेडन राख्दै १८ रन खर्चिएर ४ विकेट लिए । उनको धारिलो बलिंगसामु ओमानका मिडल अर्डर ब्याट्सम्यानहरुले लामो समय क्रिजमा बिताउन पाएनन् । उनले आफ्नो पहिलो विकेट लिने क्रममा मोहम्मद नदीमलाई ४ रनमा एल्बीडब्ल्यु धरापमा पारे । लगत्तै ओभरमा उनले विकेटकिपर ब्याट्सम्यान सुरज कुमार र नेष्टर धम्बालाई खाता नखोल्दै लगातार बलमा बोल्ड पारे । त्यसपछि, नेपाल खेलमा थप हावी भएको थियो । सन्दिपले अन्तिममा बिलाल खानलाई बोल्ड गर्दै ओमानलाई अल आउट पारेका थिए। सन्दिपको स्पेल ( ८.१-२-१८-४ ) ओमान बिरुद्ध नेपाल बलरको उत्कृस्ट स्पेल हो।
१. करन केसी : फास्ट बलर केसीले आज बलिंगमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जितमा नायक बने । पछिल्ला खेलहरुमा मिडल अर्डरमा बलिंग गरेका उनले आज नयाँ बलबाट बलिंग गर्दै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । उनले ८ ओभर बलिंग गर्दा १ मेडन राख्दै २५ रन खर्चिएर ४ महत्वपूर्ण विकेट लिएका थिए । उनले ओमानको टप अर्डर ब्याट्सम्यानको विकेट लिएका थिए । लयमा रहेका माथिल्लो क्रमका तिन ब्याट्सम्यान जतिन्दर सिंह, सुफ्यान महमुद र आयान खानलाई आउट पार्दै उनले ओमानलाई सुरुवात देखि दबाबमा राखेका थिए । आफ्नो दोस्रो स्पेलमा उनले जिम्मेवारीपूर्वक ब्याटिंग गरिरहेका ओमान कप्तान जिशान मक्सुदलाई ४१ रनमा आउट पारे । उनको घातक बलिंगसामु ओमानका ब्याट्सम्यानहरुलाई कुनै जवाफ थिएन । उनले दिएको शानदार सुरुवातको फाइदा उठाउँदै मिडल ओभरमा सन्दिपले निरन्तर दबाब राख्न सफल भए । करननै खेलको प्लेयर अफ द म्याच समेत चुनिए।