वर्ष २०१८ मा नेपाली क्रिकेटको ५ अविस्मरणीय क्षण

  • विकेटनेपाल – १५ पौष, आइतवार

अंग्रेजी पात्रोको सन् २०१८ सकिएर सन् २०१९ सुरुवात हुन अब केहि घण्टा मात्र बाँकी रहेको छ। समय बित्दै जाँदा नेपाली क्रिकेटले समेत हरेक दिन नयाँ कथा कोर्दै गएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को निलम्बनलाई संगै लिएर सन् २०१८ मा छिरेको नेपाली क्रिकेटले व्यवस्थापकिय किचलोको बावजुद वर्षभरि नै केहि अविस्मरणीय पल सृजना गर्यो। राजनीतिक, व्यवस्थापकिय र अन्य विभिन्न समस्याबाट ग्रसित नेपाली क्रिकेट समर्थकहरुका लागि सन् २०१८ मा समेत नेपाली क्रिकेट खुसीको कारण बन्यो।

यसैबीच नेपाली क्रिकेटमा सन् २०१८ मा घटेका ५ अविस्मरणीय पललाई यस लेखमा समेट्ने प्रयास गरेका छौं :

१ ) क्यानाडा विरुद्ध करन केसीको चमत्कार :

सन् २०१८ फेब्रुअरी महिनामा नामिबियामा सम्पन्न डिभिजन २ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा करन केसीले खेलेको इनिङ्स नेपाली क्रिकेटकै इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। फेब्रुअरी १४ तारिक अर्थात भ्यालेन्टाइन डे (प्रेम दिवस) को दिन करनले देखाएको सो जादुपछि उनको नामनै पछिल्लो समय “भ्यालेन्टाइन ब्वाई” रहन गयो।

डिभिजन-२ को लिगको अन्तिम खेलमा क्यानडासंग जित्नै पर्ने खेलमा नेपालले १ विकेटको जित निकालेको थियो। जितको लागि क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४४ रनमै ९ विकेट गुमाईसकेको थियो। जितको लागि ५१ रन आवस्यक भएको बेला करन केसी र सन्दिप लामिछानेले अन्तिम विकेटको लागि साझेदारी गर्दै नेपाललाई जितसम्म पुर्याएका हुन्।

Karan KC
Karan KC

अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन आवस्यक हुँदा करन केसीले सुरुको ४ बलमा रन बनाउन सकेका थिएनन्। ओभरको पाँचौ बलमा करनले कभरको माथि छक्का प्रहार गरेपछि नेपाललाई जितको लागि २ बलमा २ रन आवस्यक थियो।

त्यो अवस्थामा क्यानडा बलर सेसिल परभेजले वाइड गरेपछि अन्तिम बलमा नेपाललाई जितको लागि आवस्यक १ रन लिंदै करन केसीले नेपाललाई जितसम्म पुर्याएका थिए। करनले अविजित ४२ रनको इनिङ्स खेले जुन क्रममा मात्र ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। सन्दिप लामिछाने १८ बलमा ५ रन बनाएर अविजित रहेका थिए।

२) एक दिवसीय मान्यता : 

नेपाली क्रिकेटले प्राप्त गरेको सबैभन्दा ठूलो सफलताका रुपमा हेरिएको एक दिवसीय मान्यता समेत नेपालले सन् २०१८ मा हात पार्यो। मार्च महिनामा जिम्बाबेमा सम्पन्न एक दिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आठौँ स्थान हाँसिल गर्दा नेपालले एक दिवसीय मान्यता प्राप्त गर्यो।

आईसीसी विश्व कप छनौटको प्ले-अफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपाललाई मान्यता प्राप्त गर्न सोहि दिन अर्को खेलमा हंगकंगले नेदरल्याण्डसंग हार्नु पर्ने थियो। नेपालले चाहेको जस्तै भयो र नेदरल्याण्डसंग हंगकंग पराजित हुँदा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउने निश्चित भयो।

Nepal Cricket Team
Nepal Cricket Team

यस अघि सन् २०१४ को टि-२० विश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो। एकदिवसीय राष्ट्रको मान्यता पाएको यो पहिलो पटक थियो। सन् १९९६ मा आईसीसीले एसोसीएट राष्ट्रको मान्यता दिएको २२ वर्ष पछि नेपाली क्रिकेट टिमले अर्को ठुलो उपलब्धि हाँसिल गरेको हो।

४ वर्षको अस्थायी एक दिवसीय मान्यता प्राप्त गरिसके पछि नेपालले कुल ३ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ। नेदरल्याण्ड्स विरुद्ध उसकै घरेलु मैदानमा २ खेलको मैत्रीपूर्ण सिरिज खेलेको नेपालले युएई विरुद्ध एसिया कप छनौट प्रतियोगितामा तेस्रो एक दिवसीय खेल खेलेको हो।

३) पहिलो एक दिवसीय जित :

सन् २०१८ मार्चमा एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको नेपालले आफ्नो पहिलो एक दिवसीय जित दर्ता गर्न धेरै समय कुर्नु परेन। गत अगस्ट महिनामा नेदरल्याण्ड्स विरुद्धको एक दिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले सानदार जित दर्ता गर्यो।

आफ्नो दोस्रो एक दिवसीय खेल खेल्ने क्रममा नेपालले घरेलु टोलि नेदरल्याण्ड्सलाई १ रनको झिनो अन्तरले पाखा लगाउंदै पहिलो एक दिवसीय जित दर्ता गर्यो।

जितका लागि नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोलीलाई अन्तिम ओभरमा १ विकेट हातमा रहंदा ६ रन आवश्यक थियो। क्रिजमा रहेका फ्रेड क्लासेन र पल भेन मिकिरेनलाई ६ रन जोड्नबाट रोक्ने जिम्मा कप्तान पारस खड्का स्वयंले लिए।

ओभरको पहिलो बलमा फ्रेड क्लासेनले १ रन लिंदै मिकिरनलाई स्ट्राईक दिए। ओभरको दोस्रो बलमा मिकिरन रन जोड्न विफल रहे। तेस्रो बलमा भने मिकिरनले १ रन लिए। अब नेदरल्याण्डसलाई जितका लागि ३ बलमा ४ रनको आवश्यक थियो। त्यससमयमा क्लासेनले २ रन जोड्दै स्कोरलाई अघि बढाए। ओभरको पाँचौ बलमा रन जोड्न नसक्दा नेदरल्याण्डलाई अन्तिम बलमा २ रनको आवश्यकता थियो। अन्तिम बलमा ब्याट्सम्यानले प्रहार गरेको सट सिधा स्टम्पमा गएर लागेपछि पारस खड्काले ब्याट्सम्यानलाई रन आउट गर्दै नेपालको रोमान्चक जितको कथा कोरेका थिए।

४) लर्ड्स टुर :

क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा नेपालले दोस्रो पटक खेल खेल्ने अवसर २०१८ मा प्राप्त गर्यो। नेपाल र बेलायतको मैत्रीपूर्ण सम्बन्धको बिशेष अवसर पारेर नेपाली क्रिकेट टोलीले लर्ड्स मैदानमा मेरिलेबोन क्रिकेट क्लब ( एमसीसी ) र नेदरल्याण्ड्स विरुद्ध त्रिकोणात्मक खेल खेल्यो।

यद्यपी लगातार वर्षाको कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि एमसीसीले नेपाल र नेदरल्याण्डसंग ६/६ ओभरको खेल खेलेको थियो भने नेपाल र नेदरल्याण्डसंगको खेल भने पुरा खेलाउने निर्णय भएको थियो।

Nepal Cricket Team at Lords
Nepal Cricket Team at Lords

महेला जयवर्धनेको कप्तानीमा रहेको एमसीसी नेपालसंग ९ विकेटले पराजित भएको थियो।  स्कोरकार्ड

टस जितेर पहिले फिल्डिंग रोजेको नेपालले एमसीसीलाई ६ ओभरमा ४० रन मात्रै बनाउन दियो। ४ विकेट गुमाएर ४० रन बनाएको एमसीसीको लागि कप्तान महेला जयवर्धनेले ओपनिङ्ग ब्याटिंग गर्दै अविजित २४ रन बनाए। ४२ रनको लक्ष्य नेपालले ४.४ ओभरमा १ विकेट गुमाएर भेट्यो जुन क्रममा ओपनर सुवास खकुरेलले १६, ज्ञानेन्द्र मल्लले १२ तथा अनिल साहले ९ रन बनाए। यस अघि बलिङ्गतर्फ नेपालको लागि सोमपाल कामिले २ विकेट तथा शक्ति गौचनले १ विकेट लिएका थिए।

सोहि दिन खेलिने भनिएको नेपाल र नेदरल्याण्ड्स बिचको टि-२० अन्तर्राष्ट्रिय खेल भने वर्षाले बिथोलिएको थियो।

५ ) विश्व क्रिकेटमा सन्दिप लामिछानेको उदय :

सन् २०१८ मा सर्वाधिक सफल नेपाली खेलाडी बने सन्दिप लामिछाने। राष्ट्रिय टोलीका लागि लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले सन् २०१८ मा ६ विदेशी लिग खेल्न भ्याए।

सन् २०१८ को इन्डियन प्रिमियर लिग सिजनका लागि दिल्ली क्यापिटल्स (डेयरडेभिल्स) ले भारतीय रुपैयाँ २० लाखमा अनुबन्धन गरेसंगै सन्दिपको चर्चा एकाएक चुलियो। आइपिएल क्रिकेट अन्तर्गत सुरुवाती खेलमा मौका नपाएका सन्दिपले दिल्लीका लागि अन्तिम ३ खेल खेल्दै ५ विकेट आफ्नो नाम गरे।

Sandeep Lamichhane of the Delhi Daredevils during match forty five of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Delhi Daredevils and the Royal Challengers Bangalore held at the Feroz Shah Kotla Ground, Delhi on the 12th May 2018. Photo by: Deepak Malik /SPORTZPICS for BCCI
Sandeep Lamichhane , Photo by: Deepak Malik /SPORTZPICS for BCCI

आइपिएल क्रिकेटमा गरेको कसिलो प्रदर्शन पछि सन्दिप क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्स बाट खेल्न छनौट भए। क्यारेबियन भूमिमा समेत सन्दिपको स्पिनको जादु चल्यो। उनको सफलता यात्रा सिपिएलमा मात्र सिमित भएन। क्यानाडामा सम्पन्न ग्लोबल टि-२० लिग (मोन्टेरियल टाइगर्स), अफगानिस्तान प्रिमियर लिग, टि-१० लिग (केरेला नाइट्स) र बिग ब्यास लिग (मेलबर्न स्टार्स) मा सन्दिप “म्याच विनर” का रुपमा निक्लिए।

सन् २०१८ ले सन्दिप लामिछानेलाई विश्व क्रिकेटमा महँगो खेलाडीका रुपमा चिनायो। विदेशी लिग खेलेरनै सन्दिपले करोडौँ आम्दानी गरिरहेका छन्। क्रिकेट खेलेर भविष्य बन्छ ? भन्ने प्रश्नको जवाफ सन् २०१८ मा सन्दिपले सबैलाई दिएका छन्।

यी ५ मुख्य उपलब्धि बाहेक नेपाली क्रिकेटले सन् २०१८ मा अन्य थुप्रै उचाइ समेत हाँसिल गरेको छ। घरेलु क्रिकेटमा सन् २०१८ मा संचालित धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग लिगले खेलाडी उत्पादन संगै नेपाली क्रिकेटलाई विश्व सामु चिनाउन ठूलो टेवा दिएका छन्। यस्तै सन् २०१८ मा नै दक्षिण अफ्रीकाका महान् क्रिकेटर जोन्टि रोड्स प्रशिक्षणका लागि नेपाल आउनु आफैमा एक उपलब्धि रह्यो।

आशा छ नेपाली क्रिकेटले सन् २०१९ मा अझै ठूला सफलता हात पार्ने छ। नयाँ बर्ष सन् २०१९ यहाँलाई पनि शुभकामना !

 





थप समाचार

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीचको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए को नेपाल ‘ए’ सँगको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ […]

आइपीएल : राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत नवौं खेलमा आज (बिहिबार) राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच भिडन्त […]

नेपाल ए र आयरल्यान्ड ए भिड्दै

काठमाडौं । नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड ए विरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (बिहिबार) खेल्दैछ । […]

चाैका र छक्काको वर्षा भएको खेलमा मुम्बईमाथि हैदराबादको जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को आठौं खेलमा सनराईजर्स हैदराबादले मुम्बई ईन्डियन्सलाई पराजित गरेको छ । घरेलु मैदान […]

हैदराबादले मुम्बईलाई दियो कीर्तिमानी २७८रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)मा सनराईजर्स हैदराबादले मुम्बई ईन्डियन्सलाई २ सय ७८ रनको लक्ष्य दिएको छ । […]

आइपीएल : हैदराबाद र मुम्बई भिड्दै

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) मा आज (बुधाबार) सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । […]