युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा १८५ रनमा सम्पूर्ण विकेट गुमाउदै पन्जाबलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
राजस्थानको लागि यसस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का मद्दतले सर्वाधिक ४९ रन बनाए। यस्तै विस्फोटक ब्याटिंग गरेका महिपाल लोमरोरले मात्र १७ बलमा २ चौका र ४ छक्का मद्दतले ४३ रन तथा ओपनर इभिन लुइसले २१ बलमा ७ चौका र १ छक्का मद्दतले ३६ रन बनाए। लियाम लिभिंगस्टोनले २५ रन बनाए।
राजस्थान ओपनर इभिन लुइस र यसस्वी जैसवालले ५४ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाए। लुइसलाई छैठौं ओभरमा अर्शदिप सिंहले क्याच आउट गराए त्यसपछि कप्तान संजु स्यामसनलाई इशान पोरेलले क्याच आउट गराए। तेश्रो विकेटको लागि जैसवालले लिभिंगस्टोनसंग ४८ रनको साझेदारी गरे। १२ औं ओभरमा लिभिंगस्टोनलाई अर्शदिपले तथा १५ औं ओभरमा जैसवाललाई हरप्रित ब्रारले क्याच आउट गरे।
महिपाल लोमरोरले आक्रामक ब्याटिंग गर्दै रियान परागसंग १३ बलमा ३० रनको साझेदारी गरे। परागलाई मोहम्मद शामीले १७ औं ओभरमा क्याच आउट गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा लोमरोरलाई अर्शदिपले क्याच आउट गर्दै तेश्रो शिकार बनाए। त्यसपछि शामीले राहुल तेवतिया र क्रिस मोरिसलाई १९ औं ओभरमा पेभेलियन फर्काउदै राजस्थानलाई विशाल योगफलतर्फ जान रोके। अन्तिम ओभरको अन्तिम २ बलमा अर्शदिपले चेतन सकरिया र कार्तिक त्यागिको विकेट लिने ५ विकेट पुरा गरे।
पन्जाबको बलिंगमा देब्रे हाते पेसर अर्शदिप सिंहले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ५ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। यस्तै मोहम्मद शामीले ३ विकेट ( ४-०-२१-३ ) लिए भने इशान पोरेल ( ४-०-३९-१ ) र हरप्रित ब्रार ( ३-०-१७-१ ) ले समान १ विकेट लिए।
खेलमा पन्जाबले क्रिस गेललाई बाहिर राख्दै एडेन मारक्रमलाई अन्तिम-११ मा मौका दिएको छ। मारक्रम सहित इशान पोरेल र आदील रशिद पन्जाबको लागि डेब्यु गरिरहेका छन्। यस्तै राजस्थानको लागि इभिन लुइसले डेब्यु गरिरहेका छन्।
लिग अंकतालिकामा पन्जाब ८ खेलमा ३ जित र ५ हार पछि ६ अंक सहित सातौँ स्थानमा छ भने राजस्थान रोयल्स ७ खेलमा ३ जित र ४ हार पछि समान ६ अंक बटुल्दै नेट रन रेटमा अघि रहँदै छैठौं स्थानमा रहेको छ।
