- विकेटनेपाल, माघ-२० , आइतबार
युएईलाई तेश्रो टि-२० मा १४ रनले पराजित गर्दै नेपालले इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको छ।
वर्षको कारण १० ओभरमा छोट्याईएको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै १०४/८ को योगफल तयार गरेको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएईले १० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो र नेपाललाई जित र सिरिज सुम्पन पुग्यो।
नेपालको जितमा महत्वपूर्ण प्रदर्शन गर्ने ७ खेलाडीहरु
१. पारस खड्का
आफ्नो कप्तानीमा पहिलो पटक नेपाललाई टि-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि दिलाउन सफल पारसले तेश्रो टि-२० मा कप्तानी र ब्याटिंगमा पनि महत्वपूर्ण योगदान दिए। ओपनिङ्ग ब्याटिंग गर्न एक खड्काले नेपाललाई आक्रामक सुरुवात दिलाउन १४ बलमा ४ चौका र १ छक्का मदतले २९ रन बनाए। यस क्रममा खड्काले मोहम्मद बुताले गरेको छैठौं ओभरमा १ छक्का र १ चौका हिर्काएका थिए भने जहुर खानले गरेको पाँचौ ओभरमा २ चौका प्रहार गरेका थिए।

२. सन्दिप जोरा
पाँचौ नम्बरमा ब्याटिंग गरेका जोराले ११ बलमा ३ छक्का प्रहार गर्दै २८ रन बनाएर ठुलो योगफल बनाउन ठुलो योगदान दिए। दिपेन्द्र ऐरि चौथो ओभरमा आउट हुँदा नेपालको रन रेट पनि कम थियो भने योगफल २१/३ ( ३.३ ओभर थियो। जोराले चौथो ओभरमा सुल्तान एहमदलाई छक्का प्रहार गरे भने पुनः सातौँ ओभरमा सुल्तानलाई अर्को छक्का तथा आठौँ ओभरमा इमरान हैदरलाई तेश्रो छक्का प्रहार गरेका थिए।
३. बिनोद भण्डारी
एकदिवसीय सिरिज पछि पहिलो पटक टि-२० सिरिजमा प्रदिप ऐरिको सट्टा स्थान बनाएका बिनोदले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस क्रममा उनले इमरान हैदरले गरेको आठौँ ओभरमा १ चौका र १ छक्का प्रहार गरेका थिए जुन ओभरमा नेपालले १९ रन बटुलेको थियो। छैठौं नम्बरमा जोरासंग बिनोदले ७ रनको महत्वपूर्ण साझेदारी गरे।

४. करन केसी
खेलको प्लेयर अफ द म्याच चुनिएका करनले ब्याटिंगमा ५ बलमा १ छक्का मदतले १० रन बनाए। त्यसपछि बलिङ्ग गर्ने क्रममा पनि करनले २ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट हात पारे।
करनले गरेको किफायती बलिङ्गले नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेको थियो भने विस्फोटक ब्याटिंग गरिरहेका शैमन अनवरको विकेट लिनु खेलको टर्निंग प्वाइन्ट थियो। अनवरले २० बलमा २/२ चौका र छक्का प्रहार गर्दै ३० रन बनाईसकेका थिए र खेल जिताउन सक्ने सम्भावना देखाएका थिए। यस्तै करनले अर्का विस्फोटक ब्याट्सम्यान तथा कप्तान मोहम्मद नबिदलाई खाता नखोल्दै क्याच आउट गराएका थिए।
दोश्रो इनिंगको आठौँ ओभरमा उनले दुवै विकेट लिंदा खेलनै परिवर्तन भएको थियो। करनले ४ रन मात्र खर्चेर २ विकेट लिएका थिए। करनको ओभर अघि युएई ६ ओभरमा ७२/३ को बलियो अवस्थामा थियो तर करनको ओभर पछि युएई ७ ओभरमा ७६/५ को कम्जोर अवस्थामा पुग्यो जहाँबाट युएई खेलमा फर्कन पाएन।
५. अविनाश बोहरा
सिरिजको निर्णायक अन्तिम टि-२० मा अविनाशले २ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले विस्फोटक ब्याटिंग गरिरहेका ओपनर घुलाम शब्बिरलाई बोल्ड गरे। शब्बिरले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाईसकेका थिए र नेपालको जितमा तगारो बनिरहेका थिए। त्यतिमै अभिनाश रोकिएनन् र मोहम्मत बुतालाई ११ रनको व्यक्तिगत योगफलमा आउट गर्दै जितमा महत्वपूर्ण योगदान दिएका थिए।
युएईलाई जितको लागि १२ बलमा २९ रन आवस्यक थियो र साथमा थियो ५ विकेट। मोहम्मद बुता नेपालको लागि खतरनाक हुन सक्थे। ओभरको दोश्रो बलमा चौका प्रहार गर्दै बुताले त्यसको संकेत पनि गरे। ओभरको तेश्रो बलमा डट र चौथो बलमा २ रन दिएपछि पाँचौ बलमा आक्रामक सट प्रहार गर्ने क्रममा बुता ज्ञानेन्द्र मल्लबाट लंग अनमा समातिन पुगे। ओभरमा मात्र ९ रन खर्चेर १ विकेट लिंदा युएईलाई अन्ति ओभरमा जितको लागि २० रन आवस्यक थियो जुन ओभर नेपालको जितमा अत्यन्त महत्वपूर्ण सावित भयो।

६. ललित राजबंशी
२ ओभर बलिङ्ग गरेका देब्रे हाते स्पिनर ललितले १६ रन खर्चेर २ विकेट लिए। अन्तिम ओभरमा युएईलाई जित्न २० रन र साथमा ४ विकेट बाँकी रहेको बेला ललितले युएईको सम्पूर्ण सम्भावना समाप्त गर्न पहिलो २ बलमा २ विकेट लिएका थिए। त्यस क्रममा उले सिपि रिजवान र अमिर हयातको विकेट लिए।
७. ज्ञानेन्द्र मल्ल
सिरिजमा ब्याटबाट योगदान दिन नसके पनि ज्ञानेन्द्र मल्लले अन्तिम टि-२० मा नेपाललाई जिताउन उत्कृस्ट फिल्डिंग गर्दै महत्वपूर्ण योगदान दिए। मल्लले खेलमा ३ वटा उत्कृस्ट लिए। खतरनाक ब्याट्सम्यान जो ३० रन बनाएर खेलीरहेका थिए शैमन अनवरको क्याच, मोहम्मत बुता र सिपि रिजवानको क्याच बाउन्ड्री लाइनमा डाइभ गर्दै लिएका मल्लको योगदान नेपालको जितमा विशेष रह्यो।
( फोटोहरु – द नेसनल युएई )