अमेरिकाका मलहोत्राद्वारा एकै ओभरमा ६ छक्का प्रहार, शतक बनाउदै रचे इतिहांस

अमेरिकाका जस्करन मलहोत्राले पपुवा न्यु गिनी बिरुद्ध जारि ओमानमा जारि दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्।

सेप्टेम्बर १३ देखि ओमानमा सुरु हुने विश्वकप लिग-२ अन्तर्गत नेपाल र ओमानसंगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि अमेरिकाले ओमानसंग दोश्रो अभ्यास खेल खेलीरहेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट क्षेतीमा २७१ रन बनाउदै पपुवा न्यु गिनीलाई २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

खेलमा ३१ वर्षीय दायाँ हाते ब्याट्सम्यानले विशाल शतक बनाउने क्रममा इनिंग्सको अन्तिम ओभरमा पपुवा न्यु गिनीका दायाँ हाते फास्ट बलर गौडी टोकालाई लगातार ६ छक्का प्रहार गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मलहोत्रा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दोश्रो ब्याट्सम्यान बनेका छन्। यस अघि दक्षिण अफ्रिकी ब्याट्सम्यान हर्शल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्याण्ड बिरुद्ध अफ स्पिनर ड्यान भान बुंगेको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा पहिलो एकै ओभरमा ६ छक्का भारतका युबराज सिंहले इंग्ल्यान्ड बिरुद्ध स्टुवार्ट ब्रोडको ओभरमा २००७ मा प्रहार गरेका थिए। त्यसपछि वेस्टइन्डिजका काईरन पोलार्डले श्रीलंका बिरुद्ध यसै वर्ष मार्चमा अकिला धनन्जयको ओभरमा ६ छक्का प्रहार गरेका थिए।

मलहोत्रा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने अमेरिकाको पहिलो क्रिकेटर समेत बनेका छन्। पाँचौ नम्बरमा ब्याटिंग गरेका उनले १२४ बलमा १६ छक्का र ४ चौका प्रहार गर्दै अविजित १७३ रन बनाए।

कमजोर सुरुवात गरेको अमेरिकाले पहिलो ३ विकेट २९ रनमै गुमाउन पुगेको थियो। स्टेभेन टेलर १७, सुशान्त मोदानी ७ तथा मोनाक पैल २ रन बनाएर आउट भए। त्यसपछि पाँचौ नम्बरमा ब्याटिंग गरेका जस्करन मलहोत्राले एक किनार सम्हालेर ब्याटिंग गरे। उनले चौथों विकेटको लागि आरोन जोन्ससंग ४३ रनको तथा पाँचौ विकेटको लागि निसर्ग पटेलसंग ७९ रनको साझेदारी गरे। जोन्स २२ तथा पटेल २० रन बनाएर आउट भए पछि अमेरिकाले लगातार विकेट गुमाएपनि मलहोत्राले एर्को किनार सम्हालीरहे र अन्तिममा आक्रामक ब्याटिंग गरे। फलस्वरुप ४७ ओभरमा २१६/९ विकेट गुमाएको अमेरिकाले अन्तिम ३ ओभरमा योगफलमा थप ५५ रन जोड्न सक्यो।

पपुवा न्यु गिनीको बलिंगमा नोसैना पोकना, डामियन राभु, चाड सोपरले समान २ विकेट तथा चार्ल्स अमिनीले १ विकेट लिए।

पपुवा न्यु गिनीसंग पहिलो अभ्यास खेलमा अमेरिका ७ विकेटले विजयी भएको थियो। पपुवा न्यु गिनी नेपालसंग पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा २ विकेटले पराजित भएको थियो। नेपालले शुक्रबार पपुवा न्यु गिनीसंग दोश्रो खेल खेल्दैछ। खेल नेपाली समय बेलुका ४:१५ बजे सुरु हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy