पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

२०८२ असार २, सोमबार २१:२६

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार तय भएको फाइनल वर्षाका नतिजाविहिन भएपछि दुवै टोलीलाई संयुक्तरुपमा विजेता घोषणा गरिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाँचपोखरीले १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

खेल रोकिनुअघि पाँचपोखरीका कप्तान सार्थक धिताल ५२ बलमा सात चौकाको मद्दतले ६१ तथा बुद्धी तामाङ ४४ बलमा दुई चौकासहित ३३ रन बनाएर खेलिरहेका थिए । यसैगरी रोशन विक २४ रन बनाए आउट भए ।

मेलम्चीका लागि कप्तान रिन्जिङ तामाङले एक विकेट लिए ।

संयुक्तरुपमा विजेता घोषित भएपछि दुवै टोलीले पुरस्कार रकम पनि बाँडेका छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाा प्राप्त गर्नेछन् ।

वर्षाका कारण पहिलो सेमिफाइनल रद्द भएपछि पाँचपोखरी समूह विजेताको हैसियतले फाइनल प्रवेश गरेको थियो । यसैगरी दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोका क्लबविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।

सिन्धुपाल्चोक जिल्ला संघले नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिक मान्यता नपाए पनि विगत ७ वर्षदेखि जिल्लास्तरिय क्रिकेट लिग गर्दै आइरहेको छ । संघले ओ लेभल कोचिङ कोर्ष सञ्ञ्चालन गर्नुका साथै जिल्लाका उत्कृष्ट खेलाडीलाई प्रशिक्षणको पनि व्यवस्था गर्दै आएको छ ।

यसैगरी संघ विद्यालय क्रिकेट लिग लगायतका अन्य कार्यक्रम गर्ने योजनामा पनि छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy